एउटा दैनिक अखबार,
आज पनि मेरो कौसीमा
फालेर हिँड्यो त्यो मान्छे
अखबार भरी समाचारका शीर्षकहरू
सबै ताजा, सबै सत्य
तर, सबै बीभत्स
पहिलो पृष्ठका अक्षरहरू
सबै रगतले कोरिएका
सबै आँसुले भरिएका
दाहिने कुनातिर– हतियारका डाम लागेका अक्षरहरू
बायाँ कुनातिर– मृत्युका लाम लागेका अक्षरहरू
दोश्रो पृष्ठमा
अझै बीभत्स अक्षरहरू
सबैभन्दा माथि
सिउँदो रित्तिएका अक्षरहरू
बीचतिर बैँसमा
रहर रित्तिएका अक्षरहरू
अनि पुछारमा
जीवन सिद्धिएका अक्षरहरू
सबै बीभत्स शीर्षकहरू
सबै डरलाग्दा समाचारहरू
प्रत्येक शीर्षकहरूमा
जिन्दगीको अवमूल्यन
अर्थ स्तम्भमा–डलरको भाउ घटेजस्तो
प्रत्येक हरफहरूमा
मृत्युको खुल्ला सम्मेलन
हरेक इलाकाहरू
उसैको कब्जामा परेजस्तो
मध्य पृष्ठको दृश्य
सपनीमा झस्काउला जस्तो
सुन्दरीहरूको सुन्दर मुहार
पूरै कुरुप बनेजस्तो
पहिरोमा पुरिएको दूधे बच्चा
आर्तनाद गर्दै गुहारिरहेको छ
बेहोसीमै उसको आमा
याचना गरिरहेछिन् जिन्दगीको
तर,
सबै अर्थहीन गुहारहरू
थपिदैछन् प्रत्येक पल वरिपरि
रगत सिद्धिएका मुहारहरू
तर, अन्तिम पृष्ठमा
पूरै पानाभरी
पूरै नाङ्गिएर
एक महान कवि
अट्टहास हाँसो
बीभत्स हाँसो
हाँसिरहेथ्यो एक्लै
हाँसिरहेथ्यो एक्लै।