नेपाललाई उपाधि

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार १४:१६

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

फाइनलमा शनिबार सिंगापुरलाई २ विकेटले हराउँदै नेपाली टोलीले उपाधि उचालेको हो । यो जितसँगै नेपाल प्रतियोगिताभर अपराजित रह्यो र इतिहासमा आफ्नो दबदबा कायम राख्न सफल भयो।

सिंगापुरले दिएको ११४ रनको झिनो लक्ष्य नेपालले २९ ओभरमै ८ विकेट गुमाएर भेट्टायो । कठिन परिस्थितिमा जोय थापा खेलको नायक बने । उनले अविजित २४ रन बनाउँदै टोलीलाई संकटबाट निकालेर जितसम्म पुर्‍याए । अर्का महत्त्वपूर्ण पारि खेल्ने शिवांश बजगाईंले २० रनको योगदान दिए ।

नेपालले ४० रनमा एक विकेट मात्र गुमाएको अवस्था थियो । तर, त्यसपछि विकेटहरू क्रमशः ढल्न थाले । नेपाल ५८ रनमै पाँच विकेट गुमाएर दबाबमा आयो । त्यसपछि जोय थापा र शुभम खनालले केही समय स्थिर साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरे । नेपाल ९१ रनमा पुग्दा शुभम खनाल १६ रनमा आउट भए । लगत्तै नेपाल फेरि ९२ रनमै ८ विकेट गुमाएर हारको सँघारमा पुग्यो ।

यस्तो संकटपूर्ण घडीमा जोय थापाले संयम र साहस देखाउँदै लगातार तीन चौका प्रहार गरे । उनले अभय यादवसँग मिलेर अन्तिम साझेदारी गर्दै लक्ष्य पूरा गरेका हुन् । अन्ततः अभयले छक्का हाने ।

सिंगापुरका बलर कपिश भेनकटरमनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । युवान पाण्डेले २ विकेट हात पार्दा आकाश तेजा र वेदांश गुप्ताले समान १–१ विकेट लिए । तर, बलिङको मेहनतले अन्तिम क्षणसम्म जित दिलाउन सकेन ।

त्यसअघि सिंगापुरले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर, नेपाली बलरको धारिलो प्रदर्शनका अगाडि सिंगापुरको पारी ४०.५ ओभरमै ११३ रनमा सीमित रह्यो । सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । सुशीलबहादुर रावलले पनि ३ विकेट लिँदा शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रह्यो । समूह चरणमै नेपालले सिंगापुरलाई हराएको थियो भने अन्तिम खेलमा पनि उसैलाई हराएर उपाधि जित्यो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको उपाधि जितेको थियो । त्यसअघि एसीसीले आयोजना गर्ने यू–१६ इस्टर्न रिजन प्रतियोगितामा नेपाल सन् २०१७ र २०१९ मा समेत विजेता बनेको थियो ।

लगातार उपाधि जित्दै आएको नेपालले यसपटक पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेको छ । कठिन परिस्थितिमा पनि आत्मविश्वास, संयमता र आक्रमणको सन्तुलन कायम गर्दै नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेको हो ।

यसपटकको उपाधि जितसँगै नेपाली क्रिकेटले उमेर समूहको तहमा पनि आफ्नो बलियो उपस्थितिको पुनः पुष्टि गरेको छ । नेपालको यू–१६ टोलीले देखाएको धैर्य, कौशल र समर्पण भविष्यका लागि आशाजनक संकेत हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.