
विराटनगर। विराटनगरमा भएको दोस्रो मोरङ जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि डाँगीहाट आईटीएफ डोजाङले जितेको छ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगितामा ७ स्वर्ण पदकका साथ डाँगीहाटले उपाधि जितेको हो ।
डाँगीहाटले ७ स्वर्ण, ६ रजत र ४ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर महानगरपालिका –१० आईटीएफ डोजाङ ६ स्वर्ण, ६ रजत र ४ कांस्य पदक जित्दै द्वितीय र युमी स्कुल आईटीएफ तेक्वान्दो डोजाङ ४ स्वर्ण, ६ रजत र ४ कांस्य पदकका साथ तृतीय भएको मोरङ आईटीएफ तेक्वान्दो संघका उपाध्यक्ष ओम श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजयी खेलाडी र टोलीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष रोहित कोइराला, उद्योगी अरुण राठीलगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा मोरङको ७ डोजाङबाट विभिन्न तौल समूहको स्पर्धामा ८० जना खेलाडीको सहभागिता रहेको थियो।



















