
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।
ढाकाको बसुन्धरा किंग्स एरिना रंगशालामा भएको खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले १८, ६३ र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।
भुटानमाथि हाबी हुने क्रममा नेपालले पहिलो हाफमा ३ गोल प्रहार गरेको थियो । दोस्रो हाफमा भुटानले १ गोल फर्काउँदा नेपालले ३ गोल थप्यो । नेपालका लागि ९ औं मिनेटमा सेनु परियारले गोलको खाता खोलिन् ।
खेलको १८ औँ मिनेटमा पूर्णिमा राईले गोल थपेर खेललाई २–० को अग्रता दिलाइन्। नेपालले पहिलो हाफमा तेस्रो गोल भने थप गरिएको समयमा गर्यो । नेपालका लागि सेनु परियारले बक्स भित्रबाट गोल गरिन्।
खेलको ५४ औं मिनेटमा भुटानले गोल फर्काएको थियो । भुटानका लागि केल्डेन वाङ्मोले नेपालबाट राम्ररी डिफेन्स नभएको बलमा बायाँ तर्फबाट गोल गरेकी हुन् । ६३ औँ मिनेटमा पूर्णिमा राईले व्यक्तिगत दोस्रो र नेपालका लागि चौथो गोल गरिन्।
८३ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै नेपालको जित पक्का गरिन् । नेपालले दोस्रो खेल १३ जुलाईमा घरेलु टिम बंगलादेशसँग खेल्नेछ ।



















