
नटुटेको त्यो भाँडोझैँ थियो मेरो बालापन,
काँचो माटो, रमाइलो धुलो,
निश्चल सपना, सबैसँग मिलाप ।
बिहानको उज्यालो घामझैँ निश्चल मुस्कान,
माटोमा खेल्दा हात फोहोर, तर मन सफा
खेलौना चिन्दैनथ्यौं,
तर,
दैलोको ढुंगा पनि खेलौना नै लाग्थ्यो ।
आमाको चुलोको धन्दा
बुबाको काँध चढेर हेरेको आकाश,
र
साथीको हाँसोमा मिसिएको निष्कलंक प्रेम
सबै अझै मुटुमा छन्
धुँवामा हराएको बाल्यकाल झल्को बनेर ।
न मोबाइल थियो, न त इन्टरनेट,
थियो केवल आँगन र खुला आकाश
त्यही आकाशमा उडाउँथ्यौं सपनाका चंगा,
र
विश्वास गथ्र्यौं कि ती चंगा कहिल्यै नझर्ने ।
पढाइभन्दा रमाइलो, ठूलो थियो,
घरभन्दा पाटी, पौवा माइलो
जहाँ
ढुंगामा बसेर बनाउँथ्यौं संसार,
बिना डर, बिना चिन्ता, बिना नाटक ।
अब
जब समयको रेल अगाडि बढिसक्यो,
फेरि फर्किन नसक्ने त्यो बाल्यकाल
तर,
कहिलेकाहीँ आँखाभरि भरिन्छ
तिनै बाल्यदिनको मीठो झल्को लिएर…



















