घाटसम्म हिँडेका मानिसहरू

Share this
723shares
मुलुकी खबर
देवान किराती
clock२०८२ असार २८, शनिबार १४:०६

सडक किनारामा उभिएर हेर्नु ।

बिस्तारै हिँडिरहेका मानिसहरू हेर्नु
हतारमा हिँडिरहेका मानिसहरू हेर्नु

हातमा केही नबोकी हिँडिरहेकालाई हेर्नु
काँधमा भारी बोकेर हिँडिरहेकालाई हेर्नु
केही लेनादेना गरिरहेका
केही खोसाखोस गरिरहेका
हेर्नु , निन्याउरो अनुहारमा हिँडिरहेका मानिसहरू हेर्नु
हाँस्दै , रमाउँदै हिँडिरहेका मानिसहरू हेर्नु

सडक किनारामा उभिएर हेर्नु।

काम गर्दै गरेका
माग्दै गरेका
केही नदिँदै गरेका
गाली या अर्तीजस्तै केही दिँदै गरेका
या म जस्तै बेअर्थ
सडक किनारामा टोलाइरहेका मानिसहरू हेर्नु ।

सबै–सबै हेर्नु
र भन्नु
बिस्तारै या चिच्याएर भन्नु
तिमीहरू सबै घाटसम्म हिँडेका हौ ।

पत्याउने छैनन् उनीहरूले
फेरि उसरी नै भन्नु
म पनि घाटसम्म नै जाने हुँ
पटक्कै पत्याउने छैन उनीहरूले
तर, फिकर नगर्नु
जुन समय
निश्चित घाटमा हुनेछन् उनीहरू
थाहा पाउने छैनन् उनीहरूले
कि,
म घाटमा छु ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.