
छुन खोज्दा ओठ सम्हालिन्छन्
म तिमीमाथि बर्सिएको पहिलो वर्षाजस्तै
सुगन्ध बनी बग्छु तिमीभित्र,
अंकुरको पहिलो मुस्कान बन्ने रहरमा
छुन खोज्छु जीवनको गर्भ।
तिमी नै त हौ, साँझको सौम्य र
बिहानको तेज,
हिमालको नाभिबाट झरेको धीरता,
मेरो छातीमा उम्रिन्छ जरा बनेर
र म फुलाउँछु सभ्यता
तिमीलाई पूजा गर्ने
हर सन्तानको सपनामा।
तिमीले बोकेको राप हो मेरो उर्जा,
बिउमा झरेका सपनाहरू तिमीमै उम्रिन्छन्,
चन्द्रमाको चुम्बन साटिन्छ धूलोमा
र तिमी माटो भइकन पनि
आकाश बन्न जान्छौ।
बर्खाको दर्पणमा झन् सुन्दर देखिन्छौ तिमी,
जुनकिरीको उज्यालो पनि तिमीभित्रै हराउँछ
तिमीलाई म सजाउँछु हलोको स्पर्शले
र बनाउँछु खेत
जहाँ जिन्दगी गाइन्छ बाली बनेर।
कहिले–काहीँ आँसुमा भिज्छौ,
तर, दुःखलाई फूल बनाउन जान्दछौ
तिमी सहन्छौ, फेर्छौ रूप
र हरेक चोटलाई नयाँ शिशुको अनुहार दिन्छौ।
म तिमीभित्र समेटिएको छु माटो भएर
मेरो राग तिमीले नसुन्दिए, को सुन्छ र ?
युगौंको मौनता तिमीले बोकेको छ
अब तिम्रै छातिमा लेखिँदैछ
जीवनको अमर गीत।



















