स्वतन्त्रताको रंग

Share this
690shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार २८, शनिबार २०:०३

विराटनगर । सधैँझैँ, जुने आज पनि बजारतिर छोटो कपडा लगाएर निस्किइन्।

गाउँमा हुँदा उनी कुर्ता–सुरुवालमै रमाइरहन्थिन् । लामो कपालले उनको सालिन छवि झनै उजागर गर्थ्यो । खेतका पाटा, आमाको हातको भात, साथीहरूसँग खेल्ने ठाँउ यही थियो उनको सानो संसार ।

तर, भित्र कतै एउटा आवाज गुञ्जिरहन्थ्यो ‘तँ अझ धेरै गर्न सक्छेस्, जुने ।’ त्यसपछि उनले त्यो मनभित्रको आवाज सुनिन् र सहरतिर पढ्न जाने निर्णय गरिन् ।

सहर पुगेपछि नयाँ सम्भावना, खुलापन, फरक विचारहरूले उनलाई भित्रैदेखि हल्लाइदियो । सुरुमा गाउँकै जस्तै कुर्तासुरुवाल लगाइरहिन्। तर, सहरले उनलाई आत्मचिन्तन गर्न सिकायो ।

साथीहरूले भने, ‘कपडा त शरीर ढाक्नका लागि हो, सोच ढाक्नका लागि होइन ।’ जुनेले लामो कपाल काटेर छोटो बनाइन् । छोटो स्कर्ट र टप लगाउने निर्णय पनि गरिन्।

सुरुमा डर लाग्यो, लाजले अनुहार रातोपिरो भए झैँ महसुस गरिन् । सडकका ती नजरहरूले चिसो हावाजस्तै पोल्यो। आलोचनाका शब्दहरूले पनि चोट पुर्याए । तर, उनले आफ्नो डरभन्दा ठूलो आत्मबलमा विश्वास गर्न थालिन् ।

गाउँबाट आएकी जुने अब पहिरनमा मात्र होइन, सोचमा पनि नयाँ थिइन् । तर, पढाइमा भने उही गाउँको जुने नै थिइन्, अब्बल।

उनको सपना भने छोटो स्कर्टजस्तो सानो थिएन । उनलाई ‘करियर’को लामो रेस जित्नु थियो। सरकारी जागिरे बन्ने लक्ष्य बोकेकी जुनेले पहिरन बदलिए पनि सपना बदलिनन् । र, अन्ततः उनी गाउँकै एउटा सरकारी कार्यालयको प्रमुख बनेर फर्किइन्।

गाउँ फर्किँदा सबैको नजर उनीमाथि गढ्यो। कसैले भने, ‘कुन दिन बलात्कारको सिकार हुन्छे नि ।’ अरूले थपे, ‘सरकारी जागिरे भएर के गर्नु ? सहरले बिगार्यो नि । हाम्रो जुने त बिग्रिछ ।’

जुनेले केहीबेर मौनतामा सबै सुनेर गहिरो सास फेरिन् । अनि गाउँको चौतारीमा उभिएर भनिन्, ‘कपडाले बलात्कार निम्त्याउँछ भन्ने हो भने केटाहरू पनि गर्मीको नाममा लुगा फुकालेर अण्डरवेरमा किन घुम्नु ? उनीहरूको पहिरनलाई त दोष दिँदैनौ। दोष कपडामा होइन, नजर र सोचमा हुन्छ । बाहिरी आवरणले होइन । भित्रको सोचले मान्छेको मूल्य निर्धारण गर्छ।’

उनको स्वर अझ चर्कियो, ‘म मेरो कपडामा होइन, आत्मबल र आत्मसम्मानमा बाँचेकी छु। मैले स्वतन्त्रता लुकेर प्रयोग गर्ने होइन । आत्मविश्वासका साथ जिउँदै आएको छु ।’

उनको आक्रोश सुनेर सबै मौन भए । गाउँका केही युवतीहरूले गर्वका साथ आँखा झिम्काए । त्यहाँ डर थिएन, थियो साहस र आशा । सधैँ आमाको काखमा घोत्लिने जुनेले त्यो दिन आमालाई काखमा राखिन् ।

भनिन्, ‘आमा, म लाज मान्दिनँ । मैले मेरो पहिचान पाएँ । मेरो पहिरन मेरो हिम्मतको प्रतीक हो । मैले मेरो सोच चिनें र बुझें वास्तविक स्वतन्त्रता आफैँलाई चिनेपछि मात्र सुरु हुन्छ ।’

छोरीको कुरा सुन्दा जुनेकी आमाका आँखाबाट आँसु बगिरहे । त्यो आँसुमा थोरै पीडा थियो, धेरै गर्व । छोरी जन्मिएदेखि जुनेकी आमा र जुनेले सहँदै आएको दुःख, अपमान, समाजको तिरस्कार सबै एकैचोटी सम्झिए ।

छोराको आशामा परिवारले जुनेलाई छाडेको पनि २ दशक पार गरिसकेको थियो । बिना बाउ हुर्केकी जुने आमा र संघर्षको हाँगा समातेर जिएकी थिइन् ।

आमाकै साथले उनलाई सहरसम्म उडान भर्न प्रेरित गर्यो । त्यसैले त लोकसेवा पास गर्नेबित्तिकै उनी गाउँ फर्किइन् । सफलताको रंग आमालाई देखाउन र गाउँका चेलीहरूलाई देखाउन । जुन रंगमा आत्मसम्मान र स्वतन्त्रता मिसिएको थियो ।

त्यही दिनदेखि जुने गाउँका केटीहरूका लागि प्रेरणा बनिन् । घरको चारकुना भत्काउँदै थुप्रै महिलाहरू जुने बन्ने सपना लिएर सहरतिर लागे ।
जुनेले गाउँमा ‘लाइब्रेरी’ खोलीन् । जहाँ केटीहरूले किताब पढ्दै आफ्ना सपना बुन्न थाले ।

जुनेको मिनिस्कर्ट, छोटो कपाल, चर्को हाँसो यी सबै उनको विद्रोहका प्रतीक थिए । ढिलो भए पनि त्यो विद्रोहले परिवर्तनको बाटो कोर्न बाध्य बनायो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.