प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना स्रष्टा पुरस्कृत 

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार १९:१२

विराटनगर । विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पुर्‍याउने ८ जना स्रष्टालाई पुरस्कृत गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्तीको अवसर पारेर आइतबार विराटनगरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई समर्पण गरियो ।

त्यस्तै, ५० हजार राशिकै दीनबन्धु–उषादेवी गोल प्रतिभा पुरस्कार महाकाव्यकार भुवनहरि सिग्देल, ५० हजार राशिकै लीलानाथ–विश्व मञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेदवेदाश्रम गुरुकुलम् चतरा, सुनसरी र ५० हजार राशिकै ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार गायत्रीकुमार चापागाईं र साहित्यकार डा. विमला श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

त्यसैगरी, २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार अनुसन्धानदाता सुदीप अधिकारी, २१ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार साहित्यकार मञ्जुश्री गिरी र साहित्यकार अभागी थेगुवालाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने र पुरस्कारका संस्थापकहरूले संयुक्त रूपमा सबै पुरस्कार र सम्मान प्रदान गरे ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख खापुङले भाषा, साहित्य, संस्कृति कला समाजको दर्पण भएको चर्चा गरे । उनले भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपाने, सचिव दिङ्लाली कान्छो, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार भूषण ढुंगेल, अनन्तराज न्यौपाने, चूडामणि नेपाल अकिञ्चन, रोहिणी रसिक, मीनकुमार नवोदित, विनीता सुवेदी, लक्ष्मी रायमाझी, पुष्पा सायरालगायतले पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।

त्यस अवसरमा साहित्यकार गायत्रीकुमार चापागाईंद्वारा लिखित २ वटा कृतिसमेत विमोचन गरिएको थियो । २०३९ सालमा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म १ सय १० जनाभन्दा बढी स्रष्टाहरूलाई पुरस्कृत गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.