उच्च अदालत विराटनगर : मुख्य न्यायाधीशले गरे २२ दिनमा १०६ मुद्दा फछर्यौट, अरुको कति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १, बिहीबार १८:५८

विराटनगर । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले २२ दिनमा १ सय ६ वटा मुद्दा फछर्यौट गरेका छन् ।

मुख्य न्यायाधीशको जिम्मेवारीसहित उनी असार ५ गते उच्च अदालतमा हाजिर भएका थिए । त्यसयता भट्टराईले १ सय ६ वटा मुद्दा फछर्यौट गरेका हुन् । छोटो अवधिमै उनले फछर्यौट गरेको मुद्दाको संख्या उच्च रहेको अदालतले जनाएको छ । कार्यदिनका आधारमा भट्टराईले ४ दशमवल ५९ प्रतिशत मुद्दा फछर्यौट गरेका हुन् ।

Advertisement

न्यायाधीश ध्रुवराज नन्दले १ सय ६७ दिनमा १ हजार ७७ वटा मुद्दा फछर्यौट गरेका छन् । उनी २०८१ भदौ १२ गते उच्च अदालत हाजिर भएका थिए । कार्यदिनका आधारमा न्यायाधीश नन्दले ७ दशमलव ४८ प्रतिशत मुद्दा फछर्यौट गरेका छन् ।

न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले १ सय ११ दिनमा ४ सय ६७ मुद्दा फछर्यौट गरेकी छन् । २०८१ भदौ २४ गते उच्च अदालतमा हाजिर भएकी उनले कार्यदिनका आधारमा ४ दशमलव २१ प्रतिशत मुद्दा फछर्यौट गरेकी हुन् ।

न्यायाधीश विमल सुवेदीले २ सय २६ दिनमा १ हजार १ सय ८२ वटा मुद्दा किनारा लगाएका छन् । २०८१ साउन ३० गते उच्च अदालत हाजिर भएका उनले ६ दशमलव शून्य ६ प्रतिशत मुद्दा फछर्यौट गरेका हुन् ।

उच्च अदालतका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई (बीच), न्यायाधीश ध्रुवराज नन्द (दायाँ) र विमल सुवेदी (बायाँ) ।

२०८१ साउन ३० गते उच्च अदालत विराटनगरमा हाजिर भएकामध्ये न्यायाधीश ममता खनालले २ सय २६ दिनमा ८ सय ८८ वटा मुद्दा फछर्यौट गरेकी छन् । खनालले कार्यदिनका आधारमा ४ दशमलव ४६ प्रतिशत मुद्दा पछर्यौट गरेको देखिन्छ ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले १ सय ९३ दिनमा ७ सय ३६ वटा मुद्दाको छिनोफानो गरेकी छन् । कार्यदिनका आधारमा उनले ४ दशमलव ४९ प्रतिशत मुद्दा फछर्यौट गरेकी हुन् ।

न्यायाधीश राजेन्द्र अधिकारीले १ सय ७३ दिनमा ६ सय ६२ वटा मुद्दा फछर्यौट गरेका छन् । कार्यदिनका आधारमा अधिकारीले ४ दशमलव ६३ प्रतिशत मुद्दा फछर्यौट गरेका हुन् ।

न्यायाधीश केशवप्रसाद बास्तोलाले २ सय ३८ दिनमा १ हजार २ सय ५७ वटा मुद्दालाई किनारा लगाएका छन् । कार्यदिनका आधारमा उनले ६ दशमलव शून्य ४ प्रतिशत मुद्दा फछर्यौट गरेका हुन् । संख्यात्मक हिसाबले १ वर्षको अवधिमा सबैभन्दा धेरै मुद्दाको फैसला न्यायाधीश बास्तोलाले गरेका छन् ।

न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीले २ सय २० दिनमा ९ सय ६५ वटा मुद्दा फछर्यौट गरेका छन् । कार्यदिनका आधारमा उनले ५ प्रतिशत मुद्दाको छिनोफानो गरेका हुन् ।

न्यायाधीश कृपासुर कार्कीले २ सय ५ दिनमा ९ सय १८ वटा मुद्दाको फैसला गरेका छन् । कार्यदिनका आधारमा ५ दशमलव ३१ प्रतिशत मुद्दा फछर्यौट गरेका हुन् ।

न्यायाधीश विष्णुप्रसाद अर्यालले १ सय ७४ दिनमा ८ सय १५ वटा मुद्दा फछर्यौट गरेका छन् । २०८१ कात्तिक २० गते उच्च अदालत विराटनगरमा हाजिर भएका उनले कार्यदिनका आधारमा ५ दशमलव ७० प्रतिशत मुद्दा फैसला गरेका हुन् ।

न्यायाधीश नरेशकुमार चौधरी २ सय ३४ दिनमा ७ सय ९७ वटा मुद्दाको फैसला गरेका छन् । २०८१ कात्तिक २० गते हाजिर भएका उनले कार्यदिनका आधारमा ३ दशमलव ८९ प्रतिशत मुद्दा फछर्यौट गरेका हुन् ।

त्यस्तै, अवकाश पाएका र सरुवा भएर गएका न्यायाधीशहरुले २ सय ८२ वटा मुद्दा फछर्यौट गरेका छन् । उच्च अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार प्रति न्यायाधीश मुद्दा फछर्यौट गर्नुपर्ने औषत संख्या ५ दशमलव १५ प्रतिशत थियो ।

उच्च अदालतले आर्थिक वर्ष २०८१–०८२ मा ६० दशमलव १७ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । १ वर्षको अवधिमा लगतको तुलनामा ६० दशमलव १७ प्रतिशत र लक्ष्यको तुलनामा ८९ दशमलव ६० प्रतिशत मुद्दा फछर्यौट भएको भट्टले बताए ।

उनका अनुसार उच्च अदालतले २०८१–०८२ मा ५ हजार ६ सय ६८ वटा मुद्दा फछर्यौटको लक्ष्य राखेको थियो । आर्थिक वर्ष सकिँदा ५ हजार ७९ वटा मुद्दा मात्रै किनारा लगाउन सम्भव भएको भट्टको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.