‘मिसुम’ पढेपछि …

Share this
722shares
मुलुकी खबर
प्रदीप योङहाङ लिम्बू
clock२०८२ साउन ३, शनिबार १९:०८

‘मिसुम’ हालसालै मैले पढिसकेको कविता संग्रह हो । यसको सर्जक करिना थलङ् याङ्निम हुनुहुन्छ । यसमा जम्मा ५० वटा कविता छन् । संग्रहकै सुरुमा मधुराज केरुङ ज्यूको भूमिका छ । संग्रहमा भएका कविताहरुका समीक्षा लगभग त्यहाँ भएको छ ।

संग्रह पढिसकेपछि केही पाठकीय प्रतिक्रिया लेखौँ लाग्यो । ‘मिसुम’ लिम्बू भाषाको एउटा शब्द हो । जसले ‘आगोको ज्वालो’ भन्ने अर्थ बुझाउँछ । ‘आगोको ज्वालो’ ढुंगे युगमा उति मानवनजिक थिएन । किनकि त्यति बेलासम्म मान्छेमा पकाइ खाने चेतना थिएन । मान्छेमा चेतनाको विकास हुँदै गएसँगै विभिन्न कारणका लागि ‘आगोको ज्वालो’सँग मान्छेको सामीप्यता बढ्दै गयो ।

आज यो समयसम्म आइपुग्दा, ‘आगोको ज्वालो’ बिना हाम्रो अस्तित्वनै संकटमा पर्ने देखिन्छ । अस्तित्वमा रहन निरन्तर संघर्ष र विद्रोह आवश्यक पर्छ । यस मानेमा ‘आगोको ज्वालो’ अस्तित्व, संघर्ष र विद्रोहको प्रतीक हो भन्न सकिन्छ । यस संग्रहमा भएका अधिकांश कवितामा समान अस्तित्वको वकालत र विद्रोही प्रवृत्तिको चेत पाइन्छ ।

पछिल्लो समय महिला अस्तित्व र महिलामाथि यो समाजले निर्माण गरेको साँघुरो भाष्यलाई विनिर्माण गर्ने काम प्रतिरोधी चेतबाट कलम चलाउने एउटा तप्का, समूह, पुस्ताले दरिलो ढंगले गरिहेको अवस्था छ । यस संग्रहका अधिकांश कवितामा त्यही विनिर्माण चेत पाइन्छ । कविताहरुमा लैंगिक समानताको वकालत खरो गरी आएको छ ।

‘म माटो हुँ– जसले उब्जाउँछ जीवन,
तर, म त्यही माटो हुँ – जसले चिहान पनि बनाउँछ’
(नारीः विद्रोहको ज्वाला)

‘अब म बोल्नेछु–
र मेरो आवाज चिच्याइरहनेछ
जबसम्म यो समाजको कान फुट्दैन ।’
(म बोल्छु)

‘म त्यो आगो हुँ –
जो न बिन्तीले निभ्छ,
न गोलीले मर्छ,
म जलेर पनि बाँच्ने घोषणा हुँ ।’
(मिसुम)

माथि उल्लेखित प्रतिनिधि हरफजस्तै अन्य कविताहरुमा पनि महिला अस्तित्वका स्वरहरु कडा ढंगले आएका छन् । अहिलेको परिप्रेक्षमा यसरी यो चेतले कविता आउनुले नेपाली समाज र नेपाली साहित्यमा महत्वपूर्ण अर्थ राख्दछ ।

कविमा भएको यो प्रतिरोधी चेतका सम्मान छ । कवितामा प्रतिरोधी चेत जसरी आएको छ, त्यो गजब कुरा हो । तर, जसरी आउनुपर्ने हो त्यसरी नआएको पो हो कि भन्ने लाग्यो । अर्थात म यहाँ कविताको कलात्मक पक्षको कुरा गरिरहेको छु । दृष्टिकोण अनुसार नै सुन्दरताका परिभाषा फरक हुन जान्छ भन्ने सत्यबोध ममा छ ।

मेरो दृष्टिकोणमा कविताका भाव पक्ष अब्बल छ । तर, कलात्मक पक्ष कमजोर छ । ‘विद्रोह गर्छु’, ‘अस्तित्वको रहस्य’ आदि कविता यसका उदाहरण हुन् । उसो त कला र कलात्मकताको क्षेत्रफल कति हो ? यसको मानक के हो? यसै भन्न सकिन्न ।

मलाई लाग्छ, विद्रोही प्रवृत्ति ‘भोलि पविर्तनको घाम लाग्नेछ’ भन्ने कुरामा सधैँ आशावादी रहन्छ । सधैँ उसमा मुक्तिको आशा रहन्छ । यही आशाले उसलाई विद्रोह गर्ने शक्ति प्रदान गरिरहेको हुन्छ । कविताहरु पढ्दै जाँदा विद्रोही चेतका कविताहरुमा ‘भोलि पविर्तनको घाम लाग्नेछ’ भन्ने आशा र भरोसा पाइन्छ भने संग्रहका बीचतिरका कविताहरुमा चरम निराशा अनुभूत हुन्छ ।

थुप्रै ठाउँमा प्रसंगसहित प्रयोग भएका ‘छायाँ’, ‘शून्यता’जस्ता शब्दहरुले यो कुराको पुष्टि गर्दछन् । यी शब्दहरु धेरै ठाउँमा अर्थपूर्ण ढंगले प्रयोग गरिएता पनि केही ठाउँमा बढी प्रयोग भएको आभास भयो ।

६२–६३ भन्दा अगाडिसम्म देश “एक जाति, एक भाषा, एक भेष’भन्ने गलत अभ्यासबाट पूर्ण रुपमा संक्रिमित थियो । हुन त यो संक्रमणको न्यूनीकरण अझै भइसकेको छैन । तर, पहिले भन्दा केही हदसम्म संक्रमण कम भएको चाहिँ सत्य हो । यो संक्रमणको प्रतिरोधमा त्यतिबेला पनि थोरबहुत लेखियो र अहिले पनि लेखिँदैछ ।

सबैको जातिगत, भाषागत, संस्कृतिगत स्वभिमान सधैं बराबर हुन्छ । तर, अझै पनि देशले त्यसरी नलिइरहेको कुरा व्यवहारमा स्पष्ट अनुभूत हुन्छ । त्यसैले त अझै पनि जातीय अस्तित्वका लागि लेखिन जरुरी ठानिन्छ । यस संग्रहको ‘लिम्बूनी’ शीर्षकको कविता त्यसकै सशक्त उदाहारण हो ।

‘म त श्रीजंगाको कलमबाट लेखिएको विद्रोह हुँ,
हुप्पाथोकको पर्खाल चिर्दै अघि बढ्छु ।’
(लिम्बूनी)

यस संग्रहको ‘नारीः विद्रोहको ज्वाला’, ‘रुखको आत्मकथा’, ‘समयको सहर’, ‘दृश्य–अदृश्य दर्पण’, ‘लिम्बूनी’जस्ता कविताहरु शक्तिशाली छन्् । ‘सपनाको चिहान’, ‘अश्रुको समुन्द्र’, ‘जीवित आशा’ कविता चाहिँ कम्जोर लाग्यो । ‘सम्पादन नगरी कविता, कविता बन्दैन’ भनेजस्तै यी कविताहरुमा सम्पादन अवश्यक छ भन्ने लाग्यो ।

केही कवितामा भाव अलमल र केहीमा शब्दहरुको बढी प्रयोग भएको अवस्था छ भन्ने लाग्यो । समग्रमा संग्रहका कविताहरु सलल बगेका छन् । सलल बग्ने पानी जति सबै समुन्द्र पुग्दैन । जुन पानीमा वेग र बहावको संयोजन हुन्छ, त्यो पानी मात्रै बगेर समुद्र पुग्ने हो । अर्थात्, कलात्मकता र भावको संयोजन भएको कविता मात्रै अमर रहन्छ भन्ने मलाई लाग्दछ । चेतनाका हिसाबमा बलियो भएता पनि कलात्मकतामा अझै काम गर्नुपर्ने लाग्यो ।

अन्त्यमा, कुनैपनि चिजप्रतिको धारणा हामीले कुन स्थानबाट ? कुन दृष्टिकोणले ? कसरी हेर्यौं ? भन्ने कुराले निर्धारण गर्छ । यसैले मेरो प्रतिक्रिया र टिप्पणी नै अन्तिम सत्य होइन । पहिलो प्रयासनै सशक्त रहेकोमा कवि करिना जीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना भन्न चाहान्छु । निरन्तर लेखिरहन आग्रह गर्दछु । नोगेन । सेवारो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.