सार्वजनिक बसमा १ दिन

Share this
731shares
मुलुकी खबर
बिमला तुम्खेवा
clock२०८२ साउन १०, शनिबार १५:०२

सहरमा घनघोर पानी परेको छ,
हत्तारिँदै दगुरेको पुरानो माइक्रो बस
फोहोर सडकपेटी र यात्रुहरूका उदास अनुहार
साग बेचेर हस्याङफस्याङ गर्दै घर फर्कंदै गरेकी अपरिचित महिला
बसभित्रका सबै–सबै स्तब्ध यात्रीहरू
मेरो छेउमा चुपचाप बसेको मैलो अनुहार भएको केटो
यी प्रतिविम्बले के दर्शाउन खोजेको छ ?
हो, धेरैपछि आज म सार्वजनिक बसको यात्रामा छु
ती थाकेका आँखाहरूले
सोध्न खोजेको प्रश्न
चुपचाप लामो आख्यान हो
काठमाडौं सहरको हिलाम्मे सडक छिचोलरे हिँडिरहेको यो सीटी बस
मेरो पनि उदास–उदास जीवनको प्रतिविम्ब हो
नागरिकलाई किच्लाझैँ गर्दै
कतै रात्रिभोजमा तुफानले हुइँकिएको
पीएमको यो गाडीको आतंक
कति दिक्कलाग्दो छ
मृत्युभन्दा पनि दिक्दार र झर्कोलाग्दो
अफिस जाँदा होस् वा साथीहरूसँग भेट हुँदा
कि यो सहरको पुरानो मन्दिर र गल्लीहरू चहार्दा
कि भृकुटीमण्डपको सुनिता खाजा घरमा त्यसै–त्यसै टोलाइरहँदा
कि यसो कहिलेकाहीँ हुने जम्काभेटमा
देशको आदिवासी कवि चन्द्रवीर तुम्बापोले भन्ने गरेको
यो देश हाम्रो होइन, भूगोल मात्र हाम्रो हो भन्ने शब्द
त्यसरी आक्रोश ओकल्नु
यो देशको निम्ति खतरनाक संकेत हो ?
विचारको कति भयानक प्रस्थान हो ?
यी दिनहरूमा भृकुटीमण्डपमा हरेक दिनजसो
कवि
पत्रकार
गीतकार
संगीतकार
सबै सबैको उपस्थितिमा साँझ फर्कन्थ्यौँ विद्रोह बोकेर ।
कि बागबजारको पुरानो रातो घरमा क्रान्तिको कुरा गर्दा होस्
कि जनयुद्धका ती उज्याला दिनमा मुक्तिको सपना देख्दा होस्
यात्राका ती विकराल दिनहरूमा
म कहिल्यै यति उदास थिइनँ
म कहिल्यै यति अटेर थिइनँ
म कहिल्यै यति पराजित थिइनँ
म कहिल्यै यति बीभत्स थिइनँ
म कहिल्यै यति खाली–खाली थिइनँ
केही त भइरहेछु
किन म आक्रोशित भइरहेछु ?
किन म विचलित भइरहेछु ?
पक्कै म केही भइरहेछु
साँच्चै शून्य–शून्य भइरहेछु ।
बसको झ्यालबाट बाहिर नियाल्दा
बर्सिरहेको यो वर्षात् र आकाशमा गर्जिरहेको चट्याङ
हामीबीचको मौनता तोड्ने माध्यम भइदिएको छ ।
ऊ मलाई हेर्छ पुलुक्क
म उसलाई हेर्छु पुलुक्क
कहिलेकाहीँ अचानक यसरी भेटिएका पात्रहरूले पनि जीवनमा कत्रो
प्रश्न छाडेर जाँदा रहेछन्
के म त्यो केटोको उदास अनुहारलाई बिर्सन सकुँला ?
सायद यो बेलुकी रिङरोडको अनाम किनारमा
रुझ्दै–रुझ्दै ऊ जाँदै गर्दा पानी परेको यो क्षण म कहिल्यै भुल्ने छैन
हो, परिवर्तनको निम्ति देखेको सपना भुलेकी छैन ।
जस्तो कि म पहिलोपल्ट अन्तरी फुपूको हात समाउँदै स्कुल गएको दिन
जस्तो की पहिलोपल्ट आमाको आँखामा मेरो खातिर छचल्किएको माया महसुस गरेको दिन
पहिलोपल्ट बुबाले यो संसार छाडेर जाँदाको पल
पहिलोपल्ट लोकतन्त्र ल्याउन जुलुसमा हिँडेका ती दिनहरू
पहिलोपल्ट कवि बन्ने सपना बोकेर
यो सहरका कवि गोष्ठीमा हिँडेका ती दिनहरू
ओहो ! सम्झँदा पनि सपना हो कि बिपनाजस्तो लाग्छ
कसरी–कसरी २० वर्षदेखि यो सहरमा छु
हो, धेरै वर्षपछि म आज सार्वजनिक बसको यात्रामा छु ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.