
आज साउन १५, खीर खाएर मनाउने पुरानो परम्परा छ । खीर खाने चलन नेपाली समाजको कृषी, संस्कृती, धर्म र स्वास्थ्यसँग जोडिएको साझा परम्परा हो ।
प्रज्ञा नेपाली बृहत्त् शब्दकोशमा “खीरको” अर्थ “दूधमा पकाइको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइको स्वादिष्ठ खाद्यपदार्थ, पायस, तस्मै” भन्ने उल्लेख गरिएको छ ।
असार १५ मा दही चिउरा खादै रोपाईं गरेका किसानहरुले असारको हिलो मैलोको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने चलन छ । साउन महिना वर्षा ऋतुको महिना हो, जसमा खेतमा रोपाइँको चटारो सकिदै मैझारो गरिन्छ । वर्षाको झरीमा परेको शरीरलाई स्वास्थ्य बनाउन र ऊर्जा ल्याउन खिर खानु पर्ने मान्यता छ ।
वर्षायाममा शरीर कमजोर हुने भएकोले दुध, चामल, चिनी लगायतका सामाग्रीहरुबाट बन्ने खीरले शरीरमा उर्जा प्रदान गर्दछ । श्रमपछि शरीरमा उर्जाको आवश्यकता हुन्छ । खीर पोषिलो, स्वादिलो र सजिलै पच्न सक्ने खाना हो ।
धार्मिक भोजनका रुपमा खीर
खीरलाई सात्विक र पवित्र भोजनको रुपमा लिइन्छ । धार्मिक कार्यहरुमा र ब्रतको समयमा पनि प्रसादको रुपमा ग्रहण र वितरण गर्ने चलन छ । साउन महिनालाई भगवान शिवको महिना मानिन्छ । सोमबार ब्रत बस्ने, शिवलाई दुध चढाउने चलन छ । साउन १५ लाई सामाजिक तथा सांस्कृतिक रुपमा खुशी मनाउने दिनको रुपमा पनि लिइन्छ ।
घरपरिवार, आफन्त, छरछिमेक, इष्ट मित्रसँग मिलि सामुहिक रुपमा खीर खाने गरिन्छ । पहिले पहिले यस दिनमा जमिनदार वर्गहरूले वर्षभरि काममा खटाएका मजदुरहरुलाई खीर खुवाउने चलन थियो । धर्म, संस्कार, परम्परा र स्वास्थ्यसँग जोडिएको यो साझा परम्परा हाल नयाँ पुस्ताहरूमा पनि जीवन्त र लोकप्रिय रहेको छ । यस परम्पराले विशेष गरी परिवार र समुदायसँगको सामिप्यता, एकता र सामाजिक सद्भाव बढाउने अवसरको रुपमा लिने गरिन्छ ।
खीर खाने प्रचलन कहाँ र कहिलेबाट ?
खीर अर्थात् चामल र दुधको मिश्रणबाट बनेको यो मिठो परिकार नेपालमा मात्रै सिमित छैन । संसारका धेरै देशहरुमा यस प्रकारको परिकारहरु विभिन्न नामले चिनिन्छन् । खीर खाने प्रचलन कहिलेबाट भयो भन्ने ठ्याक्कै इतिहास नभए पनि लोक परम्परा अनुसार सयौं वर्षदेखि नै यो चलन चलिआएको भन्ने मान्यता रहेको छ । केही दस्ताबेजहरुमा खीर खाने प्रचलन १४ औं शताब्दीदेखि छिमेकी मुलुक चीनबाट सुरु भएको उल्लेख छ ।
विशेष गरी मध्यपूर्व एशिया, पश्चिम एशिया, उत्तर अफ्रिका र सार्क मुलुकहरुमा बढी मात्रामा खीरको प्रयोग गर्ने गरेको पाइन्छ । छिमेकी मुलुक भारतको गुजरातमा यसलाई दुध पाक, बंगलादेशमा पायस, अफगानिस्तानमा शिर विरिन्ज, श्रीलंका क्रिवाथ र अमेरिका बेलायतमा राइस पुडिङ्गको भन्ने प्रचलन छ ।
खीर दिवस
नेपालमा साउन १५ लाई औपचारिक रुपमा दुग्ध क्षेत्रको नियामक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले २०७८ सालबाट खीर दिवसको रुपमा मनाउन थालेको हो । मुख्य रुपमा गाउँघरको कृषिप्रधान समाजमा यो पर्व मौलिक परम्परा र संस्कारको रुपमा चल्दै आएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवका अनुसार दुग्ध उत्पादन गर्ने सरोकारवालाहरुले देशभरि दुधको उत्पादन, प्रयोग र उपभोगमा बढावा दिन र प्रबर्द्धनका लागि खीर दिवसलाई विशेष दिनको रुपमा मनाइ रहेको छ । खीरमा पाईने तत्वहरुले प्रोटिन, कार्बोहाइड्रेट, खनिज लगायतले मानिसको विकासका लागि अति महत्वपूर्ण हुने बताए ।
साउन १५ को धार्मिक मान्यता
भगवान इन्द्रलाई वर्षाको देवताको रुपमा लिने गरिन्छ । प्राचिन समयमा इन्द्रले असार र साउन महिनामा वर्ष गराउँथे । वर्षा भएपछि खेतबारीमा पानी पुग्थ्यो, बाली राम्रो हुन्थ्यो । अन्नबाली गलाउने अनुकुल वातावरण बन्थ्यो । साउन महिनाको बीच भाग अर्थात साउन १५ तिर बाली लगाउने मुख्य काम सकिने र मानिसहरु थकाई मार्नका लागि खीर पकार खाइन्थ्यो । यससँग जोडिएको जनविश्वास अनुसार स्वर्गका राजा इन्द्र पृथ्वीको हरियाली र कृषिको शुभ आरम्भ देखेर अति प्रसन्न भए । उनले देवताहरूलाई मानिसहरुले खेतिपातीमा व्यस्त भए अब उनीहरुले विश्राप गर्नुपर्छ ।
साउन १५ का दिन मिठो परिकार बनाएर पर्व मनाउन भन्ने आदेश भए पछि साउन १५ मा खीर पकाइने र बाँडचुड गरि खाने चलनको सुरु भएको भन्ने धार्मिक मान्यता रहेको छ । खीर एक प्रकारको ऊर्जाशील, प्रोटिन, भिटामिन र खनिज पाइने परिकार हो । यसलाई सन्तुलित भोजनको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।
विशेष गरी बालबालिका, वृद्धा र ब्रत बस्ने व्यक्तिहरुका लागि उपयुक्त हुन्छ । साधारणतया मानिसलाई प्रतिदिन २१०८ क्यालोरी आवश्यक पर्दछ । १०० ग्राम खीरमा ९२ ग्राम क्यालोरी प्राप्त हुने गर्दछ ।



















