
महामन्त्रीमा निर्वाचित हुनासाथ मैले केही महत्वपूर्ण राजनीतिक प्रस्तावहरू अघि सारेँ। तीमध्ये पहिलो प्रस्ताव थियो— ‘लिम्बुवान क्षेत्रमा बसोबास गर्ने सबै जातजाति लिम्बू हुन् भन्ने मान्यतासहित अगाडि बढ्ने ।’
— तेजबहादुर प्रसाईं, प्रधानमन्त्री
अखिल लिम्बुवान सुधार संघ
(नेपाल राष्ट्रिय साप्ताहिक, २८ सेप्टेम्बर, २०१६)
‘याक्थुङ लाजे’ को पुनर्स्मरण
इलाम बरबोटे (बिब्ल्याँटे) स्थित मेरो निवासमा संघीय लिम्बुवान पार्टी, नेपालका सर्वोच्च नेता कमल छाराहाङ जब आउनुहुन्थ्यो, उहाँ मेरी श्रीमती आशा नुगोलाई प्रायः सम्झाइदिनु हुन्थ्यो— ‘तपाईं त याक्थुङ लाजे ? नुङमै पोङ नारा गुन्जाउनु हुन्थ्यो नि ?’
एउटा समय लिम्बुवान मुक्ति मोर्चाले ‘लिम्बुवान क्षेत्रीय स्वायत्तता पुनर्स्थापना’ नारा सँगसँगै याक्थुङ भाषामा ‘याक्थुङ लाजे ? नुङमै’ (अर्थात् याक्थुङ देश फर्काउनै पर्छ) भन्ने नारा पनि गुन्जाउँथ्यो । पछि मोर्चाका सल्लाहकार मानबहादुर जिमी (माइला मझिया)को सुझावपछि यो नारा हटाइयो ।
तर, पछि ‘याक्थुङ’ नामधारी ससं–संस्थाले लिम्बुवान क्षेत्रीय स्वायत्तताको सट्टा ‘याक्थुङ लाजे’ पुनर्स्थापनाको माग अगाडि सारे । यसअघि ‘किरात’ नामधारी संघहरुले पनि लिम्बुवानको सट्टा किरात प्रदेशको माग गरेका थिए । जुन अन्ततः संविधान बाहिरको ठहरियो । किनभने नेपाल सरकारको जनगणना विभागले ‘किरात’लाई धर्मको रूपमा सूचीबद्ध गरेको छ ।
याक्थुङ, लिम्बू र लिम्बुवानको ऐतिहासिक व्याख्या
‘याक्थुङ सुवाङ’ (याक्थुङ जाति) र ‘याक्थुङ याक्पङगे’ (याक्थुङ राष्ट्र) भन्ने शब्दहरू ‘येत हाङ’ (आठ राजा)को अवधारणाबाट व्युत्पन्न मानिन्छ । जब याक्थुङ याक्पङगे क्षेत्रमा चीन (तिब्बत), भारत र नेपालबाट अन्य जातिको आगमन भयो, तब याक्थुङ सुवाङलाई ‘लिम्बू जाति’ र याक्थुङ याक्पङगेलाई ‘लिम्बुवान देश’ भनिन थालियो ।
हजारौँ वर्षदेखि याक्थुङ सुवाङ – लिम्बू र याक्थुङ याक्पङगे – लिम्बुवान पर्यायवाचीका रूपमा प्रयोग भइरहेका छन् । कालान्तरमा नेपाली भाषाको प्रभावमा याक्पङगेलाई ‘लाजे’ भनियो, जुन शब्द ‘राज्य’को अपभ्रंश हो ।
साझा परिचयको बहस
अन्ततः ‘याक्थुङ लाजे’ भन्ने शब्दले ‘लिम्बुवान देश’लाई बुझाउन थाल्यो । ‘लिम्बू’ साझा जातिको नाम भयो भने ‘लिम्बुवान’ साझा देशको । तत्कालीन लिम्बुवान क्षेत्रीय स्वायत्तताको अवधारणामा याक्थुङ मात्र होइन, गैरयाक्थुङहरूलाई समेत भूस्वामित्व, न्यायिक र प्रशासनिक अधिकार प्रदान गरिएको थियो ।
तर, आज ‘याक्थुङ’ नामधारी संस्थाहरूले पुनः ‘याक्थुङ लाजे’ पुनर्स्थापनाको माग गर्दैछन्। अब प्रश्न उठ्छ— के हामी याक्थुङ मात्र अट्ने याक्थुङ लाजे पुनर्स्थापना मा जाने ? वा सबै जातिलाई समेट्ने लिम्बुवान क्षेत्रीय स्वायत्तता पुनर्स्थापना रोज्ने ?
यो बहस अहिले ‘याक्थुङ लाजे’ पुनर्स्थापना पक्षधर र लिम्बुवान क्षेत्रीय स्वायत्तता पुनर्स्थापना पक्षधर दुवैको ‘कोर्टमा विचाराधीन छ।



















