
यो केही ग्रामको
अत्यन्तै भावुक मुटु लिएर
जिएर हेरियो
जुन मुटुमा आवश्यकता भन्दा
बढी भावुकता रहेछ
जुन भावुकताले
जिन्दगीमा धेरैपटक भासिनु परेको छ
अरुको दुःखमा समेत
दुख्नु परेको छ ।
कहिलेकाहीँ
जमिनमा लत्रनु परेको छ
जसरी
उड्दै गरेको पंछीको पखेटामा
कुनै सिकारीको निशाना लागेर
अकस्मात्
भुइँ झर्नुपरे जस्तो ।
सोच्छु,
कतै विज्ञानको खोजमा
साट्न मिल्छ मुटु शल्यक्रियाबाट
म अब त्यहीँ
मुटु साट्ने शल्यक्रिया गर्न चाहन्छु
जुन मुटुमा
भावुकताको कुनै अस्तित्व नहोस्
जुन मुटुमा
प्रेम बग्ने रगतको
प्रवाह नहोस् ।।



















