सुनसरी दुर्घटना : यी हुन् मृत्यु हुनेहरु, घाइते हुनेको पनि खुल्यो पहिचान

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार ११:३१

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा बस र विङ्गर माइक्रो ठोक्किएर दुर्घटना हुँदा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । ४ जना मृतकमध्ये यो समाचार तयार पार्दासम्म १ जना महिलाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । घाइते सबैको पहिचान खुलिसकेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए ।

दुर्घटनामा परेर सप्तरी घर भएका अन्दाजी ३५ वर्षीय शंकर मण्डल र ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको छ । १ जना मृतक विराटनगर घर भएका अशोक यादव भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । उनीहरुलाई उपचारका लागि ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

त्यस्तै, दुर्घटनामा परेर १ जना महिलाको पनि मृत्यु भएको छ । अन्दाजी ४५–५० वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकआपसमा ठोक्किएर सोमबार बिहान ७ः१५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ की अम्बिका राई, खोटाङ रावाबेँसी गाउँपालिका–२ की निरुता परियार, ३८ वर्षीया निर्मला परियार, सप्तरी मन्धेवाका रवीन्द्र मण्डल, उदयपुरको चौदण्डीगढी गाउँपालिका–५ की ५० वर्षीया रेनुका श्रेष्ठ, झापाको शिवसताक्षी नगरपालिका–५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर नगरपालिका–९ का ५३ वर्षीय सन्तोष खत्री, उदयपुरका ३० वर्षीय दीपक विक, इलामको चुलाचुली गाउँपालिका–३ का ३६ वर्षीय सविन राई, सप्तरीका रवीन्द्र मेहता, ६८ वर्षीय जिवछ महात्मा, खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० का ८४ वर्षीय नेत्रलाल गिरी र उनका छोरा ३९ वर्षीय केदार गिरी घाइते भएका छन् । उनीहरुको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ ।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–१ का २० वर्षीय सत्य राई, सप्तरीको राजविराज नगरपालिका–६ का १० वर्षीय रुद्र राय, राजविराज–२ का २४ वर्षीय भोला यादव, २३ वर्षीय प्रदीप यादव, राजविराज–१२ का ४४ वर्षीय प्रमोद रजक, सप्तरी तिलाठीका २२ वर्षीय रवि राय, विराटनगर महानगरपालिका–१० की शोभा यादव, सप्तरी डाक्नेश्वरीकी ३० वर्षीया अृमता राय र सुनसरीको कोशी गाउँपालिका–६ का ६० वर्षीय जोगिन्द्र दास (बाबा) घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सप्तरीको राजविराज–४ का २१ वर्षीय सन्तोष वास्तोलाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । बसका चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सुनसरीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, १६ जना घाइते

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.