
यहाँ गजबको दुनिया छ
जिउँदो हुँदा आलोचना तिरस्कार
मरेपछि फूल चढाउँछन्,
आँसु बगाउँदै बिचरा बनाउँछन्
अनि फूलमाला र अबिर दलेर सम्मानका
साथ काँधमा बोकेर घाटसम्म पुर्याउँछन्
उदेक लाग्छ समाजको यो अभिनय देख्दा
कहिले–कहिले त लाग्छ
जिउँदो हुनुभन्दा मर्नुमै सम्मान रहेछ !
झुपडीभित्र भोकभोकै मर्छन्
कोही यसो चियाउनसम्म आउँदैनन्
उस्ले खायो खाएन के–के समस्या थिए उस्का
कस्तो परिस्थितिमा उ बाँचेको थियो
कसैलाई पर्वाह हुँदैन
जब मृत्यु हुन्छ, तब कठैबरा बिचरा र असल
व्यक्तिको पहिचान दिन्छन्
न उस्ले देख्छ
न त केही सुन्छ
सिता–सिताको निम्ति तड्पिदै मर्छ
अनि मानाचामलको रास आउँछ
जिउँदो हुन्जेल एक घुड्की पानीसम्म नसोध्ने
मृत्युपछि तपाईंको सम्झनामा गाउँघर–छरछिमेक
बटुलेर भोज गराइन्छ !
जिउँदो रहँदा तपाईंको कमजोर
र कमसल भनेर गनिन्छ
मरेपछि तपाईंको सम्झना बढाइचढाइ बताइन्छ
कसै–कसैले आँखादेखि आँसु बगाएको
अभिनय गर्नसम्म पनि पछि हट्दैनन्
झुठो समाजको फोस्रो स्वाङ
कस्तो उदेक लाग्दो समाज हो यो ?
सत्य बोल्नेलाई कठघरामा उभ्याइन्छ
र मृत्युपछि पितृ मानेर पुजिन्छ
नाटक पनि कति हदसम्म हो
बुझ्नै नसकिने यो नकाबधारी समाजको !!



















