
‘कालु अचेल तँ पनि ठूलै झाँक्री भएछस् होइन ?’ साहु काजीले प्रशंसा गर्या झैं व्यङ्ग्य गर्यो ।
‘नमस्ते साहुजी’ कालु आफू बसेको ठाउँबाट उठ्यो र उभियो ।
कहिल्यै नआउने काजीलाई आफ्नो घरमा आएको देखेर उसलाई आश्चार्य भएन, बरू कुनै खास काम परेर आएको होला भन्ने अनुमान लगायो ।
‘तैँले धनु लगाउन जानेको छस् ?,’ काजीले मुख बिगार्दै सोध्यो ।
‘हजुर, जानेको छु,’ कालुले सटिकमा भन्यो । ‘त्यसो भए एकपटक हिँड न मसँग,’ काजीले भन्यो ।
‘अहिले जानुपर्छ र ? कहाँ जाने ?’ उसले सोध्यो । ‘नजिकै मन्दिरको ताला टुट्यो । अब खोजबिन त गर्नै पर्यो,’ काजीले भन्यो ।
‘त्यसो भए साँझतिर आउँला नी,’ कालुले भन्यो । ‘अहिले तँसँग एउटा कुरा छ क्या,’ काजीले भन्यो । ‘भन्नुहोस् के कुरा छ त्यस्तो ?,’ कालुले निधार चाउरी पार्दै काजीको मुखमा हेर्यो ।
‘मन्दिरको ताला बतासेले तोडेको हो । तर, हेर मसँग अब त्यसको प्रमाण छैन । त्यो पापीलाई तिमीहरुले मद्धत गर्यौं भने जेलमा कोच्छु,’ काजीले बंगारा कोट्याउँदै भन्यो । ‘भन्नुहोस्, हामीले के मद्धत गरौं ?,’ कालुले सोध्यो ।
‘सुन, धनु त्यसको घरमा पुगाउनु पर्छ । तैँले यत्ति मद्धत गर, बाँकी म आफैं गर्छु,’ काजीले अरायो । कालुले सबै कुरा बुझ्यो ।
काजीले कालुका हातमा ५–५ सयका २ वटा नोट थमायो । ‘काम पूरा भएपछि अरु यति नै दिन्छु,’ काजीले भन्यो । कालुले ‘हवस्’ भन्यो । दुवै जना त्यहाँबाट निस्किएर आआफ्ना घरतिर गए ।
साँझ निर्धारित समय ४ बजे उनीहरु मन्दिरमा पुगे । गाउँलेहरु सबैलाई बोलाए । कालुले धनु लगाउन सुरू गर्यो । धनु लगाउँदा लगाउँदै अलि पर पुगेपछि बाटाको काप फाट्यो ।
धनु ढुकढुक गर्दै तल र माथि गर्यो र माथिल्लो बाटो लाग्यो । त्यहाँ साहु काजीको घर थियो । साहु त्यो देखेर रिसायो ।
‘कालु, तँलाई के भनेको थिएँ ? भन त बतासेको घर कहाँ हो ?, पछि–पछि गएको साहु काजीले जोडसँग चिच्याउँदै भन्यो।



















