
बा, तपाईंले लगाउनु भएको त्यो साधारण फित्ते चप्पल मेरो जीवनको सबैभन्दा ठूलो पाठशाला बन्यो।
जनकपुर चुरोट कारखानाको धुवाँमा हराएको तपाईंको सपना अझै मेरो आँखामा बाँचेको छ।
साधारण जीवन बाँच्दै पनि जीवनको मूल्य र इमानलाई सम्पत्तिजस्तै अँगालेर हामीलाई बाँड्न सक्ने तपाईं, मेरो लागि ‘सिंगो पुस्तक’ हुनुहुन्छ।
पुस्तकमा पढेको एउटा पंक्ति सधैँ सम्झिन्छु, ‘। एउटा बुवा सय शिक्षकभन्दा बढी हुन्छ।’ तर, मैले त्यो शिक्षा पढेर होइन, तपाईंलाई देखेर पाएँ। किताबका पानामा भन्दा धेरै गहिरो पाठ तपाईंको जीवनले सिकायो।
म बुवाकी प्यारी थिएँ। आमाले कुट्न खोज्दा बुवाले नै आमालाई झम्टिनुहुन्थ्यो।
अफिसको कामले टाढा जानुहुनेबित्तिकै मलाई ज्वरो आउँथ्यो।
आमाले ढोकैमा राखेर तितेपातीको धुवाँमा सातो बोलाइदिनुहुन्थ्यो।
सायद यही आस्था र ममताले नै हामीलाई जोडेको थियो।
तर, तपाईंलाई लुकीलुकी रोएको मैले धेरैपटक देखें।
काँधमा कार्यालय र परिवारको भारी बोकेर पनि थाक्न नमान्ने तपाईंको आँखामा आँसुका दाना सधैँ लुकेका हुन्थे। तर, ती आँसु कहिल्यै हामीतर्फ झरेन, आँखाका डिलबाट भित्रै ओझेल पर्यो।
म महसुस गर्थिए,तर नदेखेझैँ गर्न बाध्य भएँ।
संखुवासभाको खाँदबारीसँग तपाईंको चार दशक लामो सम्बन्ध।
त्यो ठाउँले हामी दिदीभाइलाई जन्म र कर्म दुवैको नाता दियो।
त्यसपछि जनकपुर चुरोट कारखानाको धुवाँ, पसिना र संघर्षसँग नुनको साइनो बाँध्नुभयो ।
चरचर फुटेका पाइताला, बीस रुपैयाँको फित्ते चप्पल, काँधमा झोलाभरि कागजात र मुटुभरि जिम्मेवारी यस्तै यात्रामा तपाईं कहिले भोजपुरको दिङ्ग्ला त कहिले बाह्रविसे पुग्नुहुन्थ्यो।
काम र परिवारको बोझले थकाइ आउँथ्यो होला, तर सन्तानको मायाले मात्र त्यो भारीलाई अझै गह्रौँ बनाउँथ्यो।
आपतमा परेर पनि हामीलाई सुखको अनुभूति गराउन सक्ने तपाईंका हरेक त्याग म सम्झन्छु।
भोक लुकाएर घर आएर खाजा खानुहुन्थ्यो। म त ठट्यौली गर्थेँ
‘बा, खाजा त बाहिरै खाँदा हुन्छ नि, यत्रो लोभ किन?”
तर, तपाईं मुस्कुराउँदै भन्नुहुन्थ्यो ‘तिमी पनि सन्तान भए पछि थाहा हुन्छ।’
आज दुई सन्तानकी आमा भएपछि मात्र बुझें सन्तानको भविष्यका लागि रहर, भोक, सपनासम्म त्याग गर्नुपर्ने रहेछ ।
तपाईंका आँसुले लुकाएको मुस्कान अब आएर मात्र बुझेकी छु ।
-चुडिएको चप्पल टुकीको धिपधिपे प्रकाशमा गाँस्दै, अर्को महिना धान्ने तपाईंको जीवनशैली आजसम्म मेरो लागि उदाहरण बनेको छ।
पैसा नभएर होइन, बचाउने तपाईंको चाहाना म लोभको सङ्ज्ञा दिने गर्थिए, मन् मनै भन्थे मेरो बा कति लोभी।
बल्ल बुझ्दैछु, महँगो कपडा वा चम्किलो जुत्ता होइन, सत्यता र साधारणतामा रमाउन सक्ने बुवाको स्वभाव यही मेरो सम्पत्ति हो।
चुडिएको चप्पलले पनि गन्तव्यमा पुर्याउँछ। तपाईंको यो भनाई, टुकीको मधुर धुवाँझैँ मेरो मानसपटलमा अझै बलिरहेको छ।
मेरो बुबाले कति सम्पत्ति छोड्नुभयो भन्ने प्रश्न कहिल्यै उठ्दैन।
मेरो लागि महत्वपूर्ण कुरा त के शिक्षा दिन सक्नुभयो भन्ने हो।
त्यही शिक्षा आज मलाई संघर्षको मैदानमा एक्लो यात्रु भएर हिँड्ने साहस दिन्छ।
बा, तपाईं मेरो लागि किताब मात्र होइन सिंगो विश्वविद्यालय हुनुहुन्छ ।त्यसैले, यो देखावटी दुनियाँमा साधारण जीवन जिउन सक्ने सामर्थ्य तपाईंको पाठशालाबाट नै पाएँ ।



















