कविता : ‘तुलसीमठ !’

Share this
644shares
मुलुकी खबर
लक्ष्मी रायमाझी खड्का 
clock२०८२ भाद्र १४, शनिबार १४:०८

उदाउँदो मिर्मिरे होस्
या अस्ताउँदो गोधूली
फरक पर्दैन जीवनलाई
मीठा मीठा सपना बुन्न
र आँगनको तुलसीमठमा बीज उमार्न
ऊ हाम्रो आस्था र विश्वासको मन्दिर हो !
जहाँ असङ्ख्य खुसीहरू डक्क
जलधारा गरिन्छ दिनहुँ!

जीवनचक्रको आरोह अवरोहमा
सहज छैन जन्मिएपछि मर्न
त्यसै कहाँ लेखिएको हो र शास्त्रमा
हजार बिच्छीको टोकाइको डाह हुन्छ
मर्ने बेलामा!

शास्त्रमा विज्ञान छ
विज्ञानमा विश्वास छ!

दियो बालेपछि पानी अचाउनु
बिनापानीको आगो
अनियन्त्रित खरानी हो !
आगो र पानीको निकट सम्बन्धमा
जगत चलेको छ चीरकालपर्यन्त। 

सूर्यलाई जल चढाउँदा
दुवै हातका औँलाले छेकिन्छ सूर्य
आँखा जोगाउनकै लागि!

अङ्ग अङ्गमा रोग र शोक मिसिएको शरीर
अनेकौँ आयामबाट छल्दा छल्दैमा पनि
आखिर एकदिन तुलसीमठ पुग्छ
अन्तिम समयको संज्ञा लिएर !

जिजीविषा तयार हुँदैन मर्न
सकेसम्म ऊ लागिपर्छ आफूलाई जतन गर्न!

समय परिवर्तित छ
विचारको साँघुरो र फराकपनले
आज तुलसीमठका रूपमा
अस्पतालमा आइसीयू
सीसीयूमा प्रसस्त पैसाको दल राखेर
भेन्टिलेटर रुपमा तुलसीको बिरुवा उमारिन्छ
उसले कृत्रिम नै सही सास फेराउँछ केही दिन
आफन्त प्रियजनमा आश गराउँछ केही छिन!

अन्ततोगत्वा
अफशोच ! बिरामी ! आखिर ऊ मधौरो
उसको विनाश शरीर !
उही तुलसीमठ मै विश्राम लिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×