
विराटनगर । युवा कवि प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरंग’ कविता संग्रहको लोकार्पण गरिएको छ ।
विष्णुमाया पुस्तकालयले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा संग्रहको लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, राष्ट्रियसभाका पूर्व सदस्य तथा प्राज्ञ खेम नेपाली, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी, लेखककी आमा सीतादेवी ढकाल, श्रीमती हुमादेवी भट्टराईलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
विमोचित कृतिमाथि साहित्यकार विवश पोखरेल, गंगा सुवेदी र बाबुराम पोखरेलले टिप्पणी गरे । कविता संग्रहभित्रका कविता फूल झैं कोमल भएको उनीहरूको भनाइ थियो ।
समयको तरंगभित्र सबै स्वादका कविता पढ्न सकिने समीक्षकले बताए । विराट साहित्य संगमले प्रकाशित गरेको समयका तरंगभित्र विभिन्न विषयवस्तुमा केन्द्रित भएर लेखेका ७२ वटा कविता संग्रहित छन् ।
‘आमा’ शीर्षकको कविताबाट सुरु भएर ‘राष्ट्रियता’ शीर्षकमा टुंगिएको छ । कवि ढकालको यसअघि अतीतको डायरीबाट कविता संग्रह प्रकाशित भएको थियो ।



















