
विराटनगर । विराटनगरका हार्डवेयर तथा मार्बल व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिलमार्फत कारोबार गरेको आरोपमा १ अर्ब ४० करोड रुपैयाँ बिगो जरिबाना र ६ महिना कैद सजाय तोकिएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले भन्सार विभागको समन्वयमा उक्त फैसला गरेको हो । गत असार १६ गते पक्राउ परेका बियानीविरुद्ध प्रारम्भिक छानबिनमा १ अर्ब ३१ करोड बिगो तोकिएको थियो ।
तर, विस्तृत अनुसन्धानपछि साउन २८ गते अन्तिम निर्णय सुनाउँदै उनलाई थप ९ करोड रुपैयाँ बिगो थपिएको छ । बिगो रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरियो ।
बियानी विराटनगर महानगरपालिका–१० का स्थायी बासिन्दा भए पनि हाल विराटनगर–७ हाटखोलामा बस्दै आएका थिए । उनले आफू सञ्चालक रहेको ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’मार्फत नक्कली बिल प्रयोग गरेर कारोबार गरेको प्रमाण फेला परेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । उनका अनुसार यो प्रकरणसँग जोडिएका अन्य फर्महरूको विषयमा अझै अनुसन्धान जारी छ ।
यसैबीच, बियानी पक्राउ पर्दा कार्यालयका प्रमुख भुपालराज शाक्य थिए भने हाल उनको स्थानमा केशवकुमार उप्रेती कार्यभार सम्हालिरहेका छन् । नयाँ प्रमुखले यस मुद्दाको बाँकी अनुसन्धानलाई अगाडि बढाउने विभागले जनाएको छ ।
राजस्व कार्यालयले दिएको निर्णयसँग असन्तुष्ट पक्षले पुनरावलोकनका लागि विभागमा अपिल गर्न सक्ने व्यवस्था छ । तर, त्यसका लागि तोकिएको बिगो रकमको २५ प्रतिशत धरौटी बुझाउनुपर्ने हुन्छ । विभागकै निर्णय चित्त नबुझे ‘राजस्व न्यायाधीकरण’मा मुद्दा लैजान सकिन्छ ।
न्यायाधीकरणको मुख्य कार्यालय काठमाडौंमा भए पनि विराटनगरमै यसको शाखा रहेको छ । अन्ततः न्यायाधीकरणको निर्णय पनि चित्त नबुझ्दा सर्वोच्च अदालतमा अपिल गर्न सकिने कानुनी व्यवस्था छ ।
नक्कली भ्याट बिल भन्नाले वास्तविक कारोबार नगरी पनि कारोबार भएको देखाउने काल्पनिक बिजकलाई जनाइन्छ । यस्ता बिलमा खरिद वा बिक्री नहुँदा पनि सामान किनेको वा बेचेको देखाइन्छ । जसका कारण कर छली हुने गर्छ ।
सामान्यतया यस्ता बिल सक्कलीजस्तै देखिने भएकाले सजिलै पत्ता लगाउन सकिँदैन । तर, कर कार्यालयले अनुसूची–१३ अन्तर्गत व्यवसायीले बुझाएको खरिद–बिक्री विवरण मिलान गर्ने क्रममा ‘मिसम्याच’ देखिएपछि यस्ता अनियमितता खुल्ने गर्छन् । यही प्रक्रियाबाट विराटनगरका बियानीविरुद्धको नक्कली भ्याट बिल प्रकरण बाहिर आएको हो ।

























