
सपनाहरूमा सुवास भर्दैछन्
आँखाभरि फुलेका सयपत्रीहरु
बिपनाहरुमा रंग थप्दैछन्
मनभरि फुलेका मखमलीहरु
सुगन्धले मोहक बनेका सपनाहरु
इन्द्रेणी पलहरु बोकेर
लहलहाउदै छन् पवनमा।
फूलको चाड
उज्यालोको उत्सव
फेरि सजिएर
सुसज्जित भएर
गाउँबेंसी अनि शहरमा
हरेक नेपाली मनमा
हर एक दिदीबहिनी
अनि दाजुभाइको धड्कन
धड्कनमा फक्रिन तयार छन्
खुसीका गोदावरी।
चिसिएका मनहरुलाई
न्यानो दिन
अन्धकारलाई छिचोल्दै
लाग्छ
उज्यालो हाम्रोसामु उपस्थित छ
यतिबेला
फिका रङहरुलाई
आफ्नो अँजुलीमा लिदैछ समय
अंधेरी रातहरु चिरेर
घरघरमा उज्यालो दिंदैछ समय।
दिदीबहिनीहरु दाजुभाइको निम्ति
दाजुभाइहरु दिदीबहिनीको लागि
लाग्छ
आफन्तहरु बाँच्न खोजिरहेछन्
एक अर्काको लागि
लाग्छ मानिसहरु
बाँच्न खोजिरहेछन् आपसको निम्ति
फगत यही सद्भाव बाँचिराखे
फगत यही प्रफुल्लता जोगाइराखे
जगत आफैं बन्छ स्वर्ग !
जगत झिलिमिली पारौं
छरछिमेक रङ्गीचंगी पारौं
शुभकामना तिहारको !
शुभकामना
देउसे र भैलिनीको !



















