
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोवेनी बजारस्थित टाँडी–मधुमल्ला भित्री सडकमा शुक्रबार दिउँसो सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।
टाँडीबाट मधुमल्लातर्फ आउँदै गरेको को १ च ९६०२ नम्बरको पिकअपलाई सोही दिशातर्फ आइरहेको मे १ च ६११८ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । पछाडिबाट अचानक ठक्कर लागेपिछ पिकअप अनियन्त्रित भई सडकछेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअपमा सवार ९ जना घाइते भएका छन् । उनीहरूलाई स्थानीयले उद्धार गरी उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पठाएका थिए ।
घाइतेमध्ये अवस्था मध्यम रहेका १ जनालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ । घाइते हुनेमा उर्लाबारी नगरपालिका–१ की २६ वर्षीया जमुना चौधरी, ३२ वर्षीया सविता दनुवार, ४५ वर्षीया दिलमाया तामाङ, ४४ वर्षीया गंगा मगर, ४८ वर्षीया छिरिङ तामाङ, ५३ वर्षीया शान्ता तामाङ, मिक्लाजुङ–९ कसेनीकी ६५ वर्षीया जानकी दनुवार, उर्लाबारी–१ का १० वर्षीया जेशम दनुवार र ४२ वर्षीया देवी दनुवार घाइते भएका छन् । घाइतेमध्ये जानकी दनुवारलाई नोबेल रेफर गरिएको हो ।
दुर्घटनापछि दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । पिकअप चालक उर्लाबारी नगरपालिका–१ पिपलचोकका ५० वर्षीय मोहन दनुवार र कार चालक झापाको दमक नगरपालिका–८ का ४५ वर्षीय मोहनकुमार श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कारमा सवार व्यक्तिहरू भने सकुशल रहेका छन् । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

























