नेपाल किन बनेन ? समुद्रपारबाट नियाल्दा

Share this
729shares
मुलुकी खबर
नवराज प्रसाईं
clock२०८२ कार्तिक २२, शनिबार ११:४७

जब आफ्ना अनगिन्ती सपना, सुन्दर भविष्यको कल्पना र मनभरि देश तथा राष्ट्रियताको भावनालाई मनमा सजाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गहभरि आँसु पार्दै देश छोड्दै गर्दा मैले एउटामात्र कामना गरेको थिएँ- त्यो हो, देश त बन्दैन, परिवर्तन हुँदैन, विदेशिने युवाको लहर रोकिँदैन, देशमा सुशासन कायम हुँदैन। तर जे-जति भएको छ, जे-जति बाँकी छ, त्यो चाहिँ संरक्षण होस्। देशका स्रोत र साधन बचून्, धर्म-संस्कृति बचून्, त्योभन्दा पनि महत्वपूर्ण कुरा- राष्ट्रियता, भाइचारा, सामाजिक सद्भाव र सामाजिक न्याय चाहिँ बचून्। यही नै कामना गरेको थिएँ।

आज विदेशी मुलुकबाट फेरि देशलाई नियाल्दा- हाम्रो देश नेपाल किन बनेन? हामी कहाँ चुकिरहेका छौँ? हामी कुन बाटोमा अघि बढिरहेका छौँ? विकसित विदेशी देशहरू कसरी सफल भएका रहेछन्? परिवर्तन कहाँबाट सुरु गर्ने? के हाम्रो देशका नेताहरू नै खराब भएरै हाम्रो देश विकसित नभएको हो त? कमजोरी हाम्रो संविधानमा छ या व्यवस्थामै समस्या छ? यी सबै प्रश्नहरूको समीक्षा गर्दै गर्दा, किन हाम्रो देश पछि परेको हो वा किन विदेशी देशहरू विकसित भए भन्ने निष्कर्षमा आफ्नै दृष्टिकोण यसरी प्रस्तुत गर्ने जमर्को गरेँ।

नेतृत्वको क्षयीकरण

अङ्ग्रेजीमा एउटा भनाइ छ, “A fish rots from the head down.” यसको मतलव हरेक तहको नेतृत्व यदि माथिल्लो तहबाट क्षयीकरण हुन्छ भने त्यसको असर विस्तारै तल्लो तहसम्म फैलिन्छ। अथवा, टाउकोबाट कुहिन सुरु गरेको माछा विस्तारै शरीर हुँदै पुच्छरसम्म पुग्दछ।

आज नेपालको नेतृत्व यही अवस्थामा छ। नेपालका उच्च पदस्थदेखि सर्वसाधारण जनता, घर-घरमा, समाजका हरेक तह-तप्कामा भ्रष्टाचार, बेथिति, विसङ्गति र अन्धभक्त अविश्वासले कुहिएर गाउँ, समाज, देश, राष्ट्र– सम्पूर्ण नेतृत्व पतनको अवस्थामा छ।

पक्कै पनि हाम्रो समाजमा शिक्षाको कमी छ, चेतनाको कमी छ। तर त्योभन्दा महत्वपूर्ण कुरा, हाम्रो सिकाई र सिकाउने प्रणालीमा समस्या छ। हाम्रो समाजमा जो कोही आफू पहिला बन्न चाहन्छ, ऊ त बन्छ नै। फेरि अरूलाई अरूजस्तो बनाउन चाहँदैन, आफूजस्तै बनाउन चाहन्छ।

यसको अर्थ, समाजका गुरुहरू पनि आफ्नै मन्त्र शक्तिशाली बनाउन चाहन्छन्, आफ्नै साम्राज्य बलियो बनाउन चाहन्छन्। मेरो मतलब- जसले जसको नुन खाएको छ, उसकै सोझो गर्छ। आफूले फाइदा लिन सकियो अथवा आफूलाई न्याय भयो भने बाँकी अरूको अन्यायको पीडा महसुस नगर्ने एउटा मौन समाज, जो अहिले पनि बेथिति र विसङ्गति थप मजबुत पार्न सक्रिय देखिन्छ।

‘समाज सकियोस्, समाजको मान-मर्यादा, रीतिरिवाज, परम्परा सबै सकियोस्, तर व्यक्तिगत अहम् र स्वार्थ कहिल्यै नसकियोस्’ -यस्तै समाज, यस्तै राजनीतिक संरचना, यस्तै संस्कार र स्कुलिङमा हुर्किरहेको समाजबाट निर्माण भएको नेतृत्वमा हामी छौँ।

छिमेकीको खुट्टा तान्ने प्रतिस्पर्धा

विगत एक वर्षदेखि म क्यानाडामा बस्दै आएको छु।

आज आम नेपाली जनता र उनीहरूले प्रतिनिधित्व गर्ने समाज आफैँ अघि बढ्नुपर्ने तर छिमेकी अगाडि बढ्नु नहुने, जो आफ्नो बल, क्षमता, ज्ञानले अगाडि बढ्न खोज्छ, उसलाई बीचैमा रोक्नुपर्ने वा खुट्टा तान्नुपर्ने प्रतिस्पर्धामा हाम्रो समाज व्यस्त छ।

जस्तै- छिमेकी दाइ वडाको अध्यक्ष भयो, म किन भइनँ? गाउँले साथीले घर-गाडी किन्यो, मेरो किन भएन? छिमेकी स्कुल अध्यक्ष भयो, म किन भइनँ? अरूलाई गाउँको सडकको ठेक्का पाए, मैले किन पाइनँ? अरूले भ्रष्टाचार गरे, मैले किन नगर्ने? अरूले कमिसन बाँडे, मैले किन नबाँड्ने? उसको घरको बाटो पिच छ, मेरो छैन? छिमेकीको छोरा परीक्षामा प्रथम भयो, मेरो किन भएन? फलानो कुनै पार्टीको नेता भयो, म किन हुन सकिनँ? छिमेकीको श्रीमान्ले श्रीमतीलाई गहना किनिदिए, मेरो श्रीमान्ले किन किनिदिएन? छिमेकी त्यो पार्टीको, म यो पार्टीको। छिमेकी गणतन्त्रवादी, म राजावादी। यिनै प्रश्नहरूमा रुमलिएको मेरो समाज र यस्तै प्रतिस्पर्धाबाट निर्माण भएको नेतृत्वमा हामी छौँ।

मूल मन्त्र: ‘आफूमै केन्द्रित होउ’

विगत एक वर्षदेखि क्यानाडामा बस्दै आएको छु। यहाँ आएर मैले बुझेको र महसुस गरेको एउटा महत्वपूर्ण कुरा भनेको नै “Ignore everything and focus on yourself.” अथवा “सबै कुराको बेवास्ता गर्, आफूमै केन्द्रित होउ।” यहाँको मूल मन्त्र नै यही लागेको छ।

यहाँका जनता सालिन, सरल र सहयोगी छन्। उनीहरूको दैनिकी साधारण छ। दिनभर आफ्नो समयमा काम गर्ने, आफ्नो योजना र लक्ष्यमा कसरी सफल हुने भन्ने कुरामा उनीहरू आफैँ प्रतिस्पर्धा गर्छन्। बिहानी हाँसोबाट सुरु भएको मुस्कान बेलुका निदाउँदा पनि त्यही ऊर्जा, त्यही मुस्कान। न कसैको चासो, न कसैको पर्वाह। हरदम आफैँमा केन्द्रित।

यहाँ कुनै प्रतिस्पर्धा छैन। न छिमेकीको घर दश-एघार तल्लाको हुँदा चित्त दुखाउने प्रवृत्ति छ, न साथीभाइ सम्पत्तिले भरिभराउ हुँदा कुनै मोह, होडबाजी र प्रतिस्पर्धा छ।

भ्रष्टाचार रोक्ने अस्त्र: बेवास्ता

भ्रष्टाचार यहाँ पनि हुन्छ, तर यहाँ उसले भ्रष्टाचार गर्‍यो भन्दैमा जो कोहीले भ्रष्टाचारको सिको गर्नुपर्ने संस्कार छैन। नेपालमा उसले ठेक्का पायो, मैले किन नपाउने? उसले खायो, मैले किन नपाउने भन्ने अभ्यास यहाँ छैन।

भ्रष्टाचार रोक्ने महत्वपूर्ण अस्त्र पनि “बेवास्ता” नै हो भन्ने कुरा मैले व्यक्तिगत रूपमा महसुस गरेँ। जस्तै—कसैले भ्रष्टाचार गर्‍यो भने उसलाई बेवास्ता गरिदिनुहोस्। बाँकी, आफैँ भ्रष्टाचार नगर्नुहोस्। त्यसपछि आफैँ कम हुन्छ भ्रष्टाचार।

तपाईँले सुरु गर्नुभयो भने भोलि अर्कोले गर्छ, पर्सि अर्कोले गर्छ- यसरी त पूरा देश नै भ्रष्टाचारमा डुब्छ। तपाईं भ्रष्टाचार नगर्नुहोस्, यसलाई बढावा नदिनुहोस्, ताकि त्यो भ्रष्टाचार गर्ने व्यक्ति आफैँ एक्लो भएर सिस्टम मान्न थालोस् र विधिको शासन अनुशरण गर्न सुरु गरोस्।

तन्त्र परिवर्तन होइन, चेतनाको सुधार

हाल देशमा राजावादी र गणतन्त्रवादीहरूको दोहोरी चलिरहेको छ। आन्दोलनले विकराल रूप लिँदैछ। यसको कुनै अर्थ छैन भन्ने लाग्छ।

चाहे कोट पुरानो होस् या नयाँ, तर सुन्दरताको चमक शरीरको प्राकृतिक बनावटले निर्धारण गर्ने हो। हिजो राजतन्त्र चाहिँदैन भन्ने गणतन्त्र ल्याउने जनता पनि तिनै हुन्, आज गणतन्त्र भएन, राजतन्त्रमा फर्कौं भन्ने जनता पनि तिनै हुन्। जनताको सोच उही हो, चेतनाको स्तर उही हो, सामाजिक-राजनीतिक संरचना, राजनीतिक संस्कार उही हो।

हिजो गणतन्त्र ल्याउन योगदान गर्‍यौँ भनेर आजसम्म त्यसको ब्याज नेपाली जनतासँग असुल्ने र देशका युवा खाडीमा बेच्ने, देशलाई वर्षौँपछि धकेल्ने गणतन्त्रका ठेकेदार पनि उनै हुन्। र, भोलि राजतन्त्र ल्याउने समाज र नेतृत्व गर्ने ठेकेदारहरूले पनि त्यसको बदलामा साँहु ब्याज हिसाबकिताब लिने नै छन्।

तन्त्र परिवर्तनभन्दा पनि सामाजिक-राजनीतिक संरचनामा सुधार गरौँ। जनताको चेतनाको स्तरमा सुधार गरौँ। हाम्रो व्यक्तिगत जीवन स्वार्थरहित, साधारण, सरल, सुखी बनाऔँ।

अझ महत्त्वपूर्ण कुरा, राजनीतिक दलको झण्डालाई भन्दा देशको झण्डालाई प्राथमिकतामा राखौँ, पार्टीको झोलाभन्दा पनि ज्ञानको पुस्तक भरिएको झोला बोकौँ, देखासिकी, अनावश्यक डाहा-मोह सबै कुरा त्यागेर सक्षम, शिक्षित समाजको निर्माण नै आजको आवश्यकता हो।

बढाऊँ चेतनाको स्तर, भगाऊँ विकृतिहरू र पो जस हुन्छ।

नगरौँ आन्दोलन, नत्र परदेशमा नेपाली मन सदैव टच हुन्छ।

त्यागौँ डाहा, ईर्ष्या, मोह नगरौँ तुलना, प्रतिस्पर्धा कोहीसँग।

अनि पो जिन्दगी बन्छ सुखीखुसी सदाबहार चसैंचस हुन्छ॥

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×