
भारतमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिता रहेको थियो, जसले नेपाली चलचित्रप्रति भारतका नेपाली भाषी समुदायको गहिरो आकर्षण रहेको पुष्टि गरेको छ।
कार्यक्रममा नेपालका लोकप्रिय गायक सुजन चापागाईँले चलचित्रका गीतहरू प्रस्तुत गर्दै वातावरणलाई रोमाञ्चक बनाएका थिए। उनीसँगै नेपालबाट अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाङ्कन निर्देशक चिन्तन राजभन्डारी, र कार्यकारी निर्माताहरू मिलन खत्री तथा सागर बुढाथोकी लगायत टिमका सदस्यहरू उपस्थित थिए।
सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरू समेत कार्यक्रमको मुख्य आकर्षण बनेका थिए। अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारहरूले आफ्ना प्रस्तुति दिए। त्यस्तै, अमृता राईले चलचित्रको चर्चित गीत ‘काफ्ले’ मा नृत्य प्रस्तुत गरिन् भने नेपालबाट गएका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’ मा प्रस्तुति दिएका थिए।
नेपालमा करिब १२ करोड रुपैयाँभन्दा बढी बक्स अफिस कमाई गर्दै वर्षकै चर्चित चलचित्रहरू मध्ये एक बनेको ‘ऊनको स्वीटर’ यथार्थपरक कथा, प्रभावशाली अभिनय र मन छुने सङ्गीतका कारण दर्शक तथा समीक्षक दुवैबाट प्रशंसित भएको थियो।
यो चलचित्र नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा रिलिज हुँदैछ। भारतको सेन्सर बोर्डबाट पास भइसकेको चलचित्रलाई एसली प्रोडक्सनले वितरण गर्दैछ, जसले बिहीबार साँझ सिक्किममा विशेष प्रिमियर शो पनि आयोजना गरेको छ।
निर्देशक नवीन चौहानले नेपालमा जस्तै भारतमा पनि चलचित्रले उल्लेखनीय सफलता पाउने विश्वास व्यक्त गरे। वितरक एसली प्रोडक्सनका प्रमुख एवन राईले यो आफ्नो पहिलो प्रयास सफलताको दिशामा अग्रसर भएको र आगामी दिनहरूमा भारतीय बजारमा नेपाली चलचित्रलाई नियमित रूपमा ल्याइने बताए।
सोही अवसरमा गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा ‘सुजन चापागाईँ एन्ड द इन्फिनिटी’ ब्यान्डको कन्सर्ट हुने घोषणा पनि गरे। भारतमा पनि यो चलचित्रले सोही लोकप्रियता दोहोर्याउने अपेक्षा गरिएको छ।



















