
काठमाडौं । आफ्नो पछिल्लो चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रचारमा रहेका निर्माता विनोद पौडेलले नेपाली फिल्म क्षेत्रमा चलचित्रलाई ‘सानो र ठूलो’ भन्ने मापदण्डमाथि कडा असहमति जनाएका छन्। उनले चलचित्रको रिलिजअघि नै त्यसलाई सानो वा ठूलो भन्न नहुने तर्क गरेका छन्।
“सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिन्छ,” निर्माता पौडेलले भनेका छन्। उनको बुझाइमा, जसले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, र जसले थोरै कमाउँछ त्यो सानो हो। उनले चलचित्रको कास्टिङ र बजेटले मात्रै सिनेमालाई ठूलो भन्न नसकिने स्पष्ट पारेका छन्।
ठूलो स्टारकास्ट नहुँदैमा कुनै चलचित्र सानो हो भन्न नहुने उनको तर्कमा बलियो आधार छ। पौडेलले निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले नै उनको यो तर्कलाई पुष्टि गरिसकेको छ।
डेढ करोड रुपैयाँको बजेटमा बनेको उक्त चलचित्रले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कलेक्सन गरेर अहिलेसम्मकै रेकर्ड ब्रेक गरी नयाँ रेकर्ड बनाएको थियो। “अब यो सिनेमालाई ठूलो भन्ने कि सानो?” निर्माता पौडेल प्रश्न गर्छन्।
उनले आफ्नो आगामी चलचित्र ‘अभिमन्यु’लाई पनि ‘अन्डर डग’हरूको चलचित्र भन्दै नहेप्न चेतावनी दिएका छन्। पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो चलचित्रप्रति पौडेलमा देखिएको उच्च आत्मविश्वासले ‘अभिमन्यु’ राम्रो नै छ कि भन्ने अपेक्षा गर्न सकिन्छ।
‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गते रिलिज हुँदै
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ आगामी मंसिर १८ गते रिलिज हुँदैछ।
यो चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। सुशान्त गौतमले निर्देशन गरेको यस चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालको रहेको छ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्।
यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने तयारी रहेको छ।



















