
विराटनगर । ‘जेनजी आन्दोलन’का क्रममा गत भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ परेकाहरू रिहा हुँदा विराटनगरमा भव्य स्वागत गरिएको छ । साेमबार नेपाली कम्युनिष्ट पार्टीका विद्यार्थी नेता ताजिम अन्सारीसहित ९ जना हाजिरी जमानीमा छुट्दा नेकपाका कार्यकर्ताले फूलमाला र अबिरजात्रासहित नाराबाजी गरेका हुन् ।
सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने समूहमा संलग्न रहेको आरोपमा अन्सारी गत मंसिर १४ गते पक्राउ परेका थिए । अनुसन्धान प्रक्रिया पूरा भइसकेको कारण सोमबार उनीहरूलाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । अन्सारीसँगै आवाज पौडेल, अरुण साह सोनार, अनिल साह, पंकजकुमार कामत,चन्दन मण्डल, रोशन शर्मा, राजेश यादव र महेश नेपाल छुटेका हुन् ।
प्रहरी स्रोतका अनुसार, प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो, तर सरकारी वकिलको कार्यालयले फाइल प्रहरीमै फिर्ता पठाएपछि आरोपीहरू छुटेका हुन् ।
रिहाइलगत्तै समर्थकहरूले जिल्ला प्रहरी कार्यालय परिसरबाहिर अन्सारीसहितको टोलीलाई फूलमाला लगाएर नाराबाजी गरेका थिए। अन्सारीसहितको समूहलाई पूर्वसामान्य प्रशासन मन्त्री अमनलाल मोदीसहितका नेकपा नेताहरूले जिम्मा लिएर छुटाएका हुन् । अमनलाल मोदी मन्त्री हुँदा अन्सारी उनका स्वकीय सचिव थिए।
गत भदौ २४ गते सरकारी कार्यालयहरूमा भएको तोडफोड र आगजनीमा अन्सारी संलग्न रहेको भिडियो सार्वजनिक भएको थियो । चौतर्फी आलोचना भएपछि उनले उक्त भिडियो हटाएका थिए । सोमबार हाजिरी जमानीमा छुटेका अन्सारीले भने आफू जेनजीको पक्षमा उभिँदा झुटा मुद्दा लगाएर फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।
माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताको अगुवाइमा जल्यो विराटनगर

























