
लमतन्न परेर
सुतिरहेको
कतै घुम्रिएका
कतै ठाडो परेर
ठिंग उभिए जस्तो
म बाटो
मेरो ज्यान माथि
कुल्चिएको
पैतलाका डोबहरु
मेटिएका छैनन् होला
तर ती पैतलाहरुले
सायद डोबहरु भुलिसके होलान्
पैतला अचेल
म माथि पर्दैनन्
पैतला सौखिन
भएका छन् अचेल
मेरा ज्यान माथि
महंगा मर्सिडिजका
पांग्राहरु गुड्किन्छन्
म तिनै पांग्राहरुलाई
तिम्रै पैतला सम्झिएर
सहिदिन्छु अचेल
तिमी मलाई
चिन्दैनौ अचेल
किन थाहा छ ?
अहँ थाहा छैन होला
सायद तिमीले भुलिसक्यौ होला
तिम्रो पैतलामा लागेका मेरा शरीरका हिलोहरु
तर मैले भुलेको छैन
तिम्रा पैतलाका डोबहरु
म त्यही बाटो हुँ ।
जसलाई तिमी भन्ने गर्थ्यौ
कस्तो लमतन्न वाटो
कस्तो नाक ठोक्किने उकालो ।
हो म त्यही
लमतन्न परेर सुतिरहेको
त्यही नाक ठोक्किने
ठिंग परेर उभिएको उकालो हुँ ।
तिमीले तिम्रा पैतलाहरुलाई
परिवर्तन गराएछौ ।
तर म त तिम्रा पैतलाका
डोबहरुलाई सम्हाल्दै
यहीँ बसिरहेछु
लमतन्न, ठिंग उभिएर ।



















