
विराटनगर । विराटनगरको मल्टिप्लेक्स सिटी सिनेमा प्रालिले अत्याधुनिक ‘बारको फोरके’ लेजर प्रोजेक्टर स्थापना गरेको छ । यो नेपालमै पहिलो पटक जडान भएको सिनेमा हलले प्रेस विज्ञप्ति जारी गर्दै दाबी गरेको छ ।
यस प्रविधिले देशको सिनेमा उद्योगमा नयाँ मापदण्ड र आयामको सुरुवात गरेको जनाइएको छ । प्रविधिका विशेषता र लागत झन्डै २ करोड रुपैयाँको लागतमा जडान गरिएको यस प्रोजेक्टरले उच्च रिजोल्युसन, उत्कृष्ट उज्यालोपन, गहिरो कन्ट्रास्ट र जीवन्त रङ्गहरू प्रदान गर्दछ ।
यसले दर्शकहरूलाई साँच्चिकै विश्वस्तरको दृश्य अनुभव प्रदान गर्ने विश्वास हल व्यवस्थापनले लिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार यो प्रविधि नेपालमै पहिलो र एकमात्र स्थापना भएको प्रोजेक्टर हो ।
यसले चलचित्र हेर्ने अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै विराटनगरलाई अत्याधुनिक मनोरञ्जन केन्द्रको रूपमा स्थापित गर्नेछ । सिटी सिनेमाले सम्पूर्ण चलचित्र प्रेमीहरूलाई विश्वस्तरीय भिजुअल अनुभव लिनका लागि निमन्त्रणा समेत गरेको छ ।

























