
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार कच्चा तेलको भाउमा गिरावट आएको छ। इरानमाथि अमेरिकाले सैन्य आक्रमण गर्न सक्ने आशङ्काका कारण केही दिनदेखि लगातार बढिरहेको तेलको मूल्यमा शुक्रबार १ प्रतिशतभन्दा बढीको कमी देखिएको हो। अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १ प्रतिशतले घट्दै ७० डलरमा झरेको छ। त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको मूल्य पनि १.१२ प्रतिशतले घटेर प्रतिब्यारेल ६४ डलर ६९ सेन्टमा सीमित भएको छ।
इरान र अमेरिकाबीचको सम्भावित द्वन्द्वले विश्वको ऊर्जा आपूर्ति, विशेष गरी हर्मुज जलडमरूमध्यबाट हुने ढुवानी अवरुद्ध हुन सक्ने चिन्ताले अघिल्ला दिनहरूमा मूल्य उकालो लागेको थियो। तर अपेक्षित रूपमा सैन्य तनाव नबढेपछि बजार केही शान्त बनेको विश्लेषकहरूले बताए। रातारात कुनै ठुलो सैन्य कारबाही वा आपूर्तिमा अवरोध नभएपछि लगानीकर्ताहरू केही ढुक्क देखिएका छन्।
जेपी मोर्गन र सिटी ग्रुप जस्ता वित्तीय संस्थाहरूले अमेरिकी आक्रमण भए पनि त्यो सीमित र लक्षित हुने प्रक्षेपण गरेका छन्। सम्भावित आक्रमणमा इरानको तेल उत्पादन र निर्यात पूर्वाधारलाई निशाना बनाइने सम्भावना कम रहेको विज्ञहरूको भनाइ छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सैन्य कारबाहीको धम्की दिएपछि तेलको भाउ केही महिनायताकै उच्च स्तरमा पुगेको थियो।

























