निपाह भाइरस फैलन नदिन नेपालमा सतर्कता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार ०६:५९

काठमाडौं । भारत र बंगलादेशमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन थालिएको छ ।

उच्च मृत्युदरका कारण विश्व स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती बनेको निपाह भाइरस नेपालमा हालसम्म पुष्टि नभए पनि छिमेकी मुलुकमा फैलिएको अवस्थाले जोखिम भने बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको नमुना संकलन र परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गरेको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नेपालमा निपाह भाइरस हालसम्म देखिएको छैन । तर, भारत र बंगलादेशमा पुष्टि भइसकेको अवस्थामा नेपालमा समेत फैलन सक्ने सम्भावनालाई बेवास्ता गर्न नमिल्ने उनको भनाइ छ ।

उनका अनुसार अन्तरिम निर्देशिकाको उद्देश्य जोखिम पहिचान, शंकास्पद केसको वर्गीकरण, नमुना संकलन र परीक्षण प्रक्रियालाई प्रभावकारी बनाउनु हो । सम्भावित संक्रमण देखिएमा समयमै नियन्त्रण गर्न सकियोस् भनेर सतर्कता अपनाइएको डा. बुढाथोकीको भनाइ छ ।

ज्वरोसँगै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका र हालसालै निपाह प्रभावित क्षेत्रको यात्रा गरेका व्यक्तिलाई शंकास्पद निपाह भाइरस संक्रमणको रूपमा वर्गीकृत गरिएको छ । यस्ता लक्षण भएका व्यक्तिलाई तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गराई आइसोलेसनमा राख्ने, आवश्यक परीक्षण गर्ने र संक्रमण फैलिन नदिने उपाय अवलम्बन गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले अस्पताल तथा प्रयोगशालालाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले छिमेकी मुलुकमा निपाह भाइरस फैलिएको अवस्थाले नेपाल पनि उच्च जोखिमको घेरामा परेको बताए ।

उनका अनुसार निपाह भाइरसको संक्रमणको शंका लाग्नेबित्तिकै विशेष निगरानी आवश्यक हुन्छ । प्रारम्भिक लक्षण सामान्य ज्वरोजस्तै देखिए पनि केही दिनमै गम्भीर अवस्थामा पुग्न सक्छ । विश्वका विभिन्न तथ्यांकले निपाह भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको देखाएकाले यसलाई सामान्य रूपमा लिन नमिल्ने बास्तोलाको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस फलफूल खाने चमेरोमा प्राकृतिक रूपमा पाइने भाइरस हो । चमेरोबाट सिधै वा चमेरोले छोएको फल, संक्रमित सुँगुर वा व्यक्तिसँगको सम्पर्कबाट यो भाइरस मानिसमा सर्न सक्छ ।

पुनले निपाह भाइरसका लागि हालसम्म कुनै खोप वा विशेष औषधि उपलब्ध नभएको स्पष्ट पार्दै रोकथामका उपाय नै सबैभन्दा प्रभावकारी हतियार भएको बताए । भारतको पश्चिम बंगाललगायत क्षेत्रमा चिकित्सक र नर्ससम्म संक्रमित भएको उदाहरण दिँदै उनले स्वास्थ्यकर्मीहरूका लागि पनि जोखिम उच्च रहेको उल्लेख गरेका छन् ।

निपाह भाइरसको संक्रमण सामान्यतया ४ देखि १४ दिनभित्र देखा पर्छ । प्रारम्भिक लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ, घाँटी दुखाइ, वाकवाकी र कमजोरी देखिन सक्छ ।

अवस्था गम्भीर हुँदै जाँदा बेहोसी र मस्तिष्कमा जस्ता जटिल समस्या उत्पन्न हुन सक्छन् । लक्षण देखिनासाथ ढिलाइ नगरी स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको अन्तरिम निर्देशिकाले व्यक्तिगत तथा सामुदायिक सतर्कतालाई विशेष जोड दिएको छ । चमेरोले टोकेको वा आंशिक रूपमा खाएको फलफूल नखाने, काँचो खजुरको रस नपिउने, संक्रमित व्यक्ति वा जनावरसँग सम्पर्क गर्दा आवश्यक सुरक्षा उपाय अपनाउने, पीपीई प्रयोग गर्ने, हात साबुनपानीले नियमित धुने र मास्क प्रयोग गर्ने जस्ता उपायलाई अनिवार्य रूपमा पालना गर्न आग्रह गरिएको छ ।

सुँगुर पालन गर्ने फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न र अस्वस्थ सुँगुर देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ । नेपालमा निपाह भाइरस पुष्टि नभए पनि खुला सीमा, आवतजावतको सहजता र स्वास्थ्य चेतनाको असमान स्तर लगायतले जोखिम बढाउने सम्भावना रहेको विज्ञहरूको निष्कर्ष छ ।

त्यसैले सरकारी निकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र आमनागरिक सबैले आआफ्नो तहबाट सतर्कता अपनाउन आवश्यक छ । संक्रमण फैलिन नदिन समयमै सूचना आदानप्रदान, पारदर्शी रिपोर्टिङ र वैज्ञानिक सल्लाहको पालना अपरिहार्य देखिन्छ । निपाह भाइरसजस्तो उच्च जोखिमयुक्त संक्रमणको सामना गर्न उपचारभन्दा पनि रोकथाम नै मुख्य उपाय हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.