
नाइजेरिया । नाइजेरियाको क्वारा राज्यमा सशस्त्र बन्दुकधारीहरूले १६२ जनाको विभत्स हत्या गरेका छन्। मङ्गलबार राति वोरो गाउँमा भएको यो भीषण आक्रमणपछि राष्ट्रपति बोला अहमद टिनुबुले देशको सुरक्षा व्यवस्था मजबुत बनाउन तत्काल सेनाको बटालियन तैनाथ गर्न आदेश दिएका छन्।
सेनाले यस क्षेत्रमा सक्रिय ‘आतङ्कवादी तत्वहरू’ विरुद्ध चलाएको कारबाहीको बदला स्वरूप यो आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। आक्रमणकारीहरूले गाउँका पसलहरू र स्थानीय परम्परागत शासक (राजा) को दरबारमा समेत आगो लगाएका थिए। रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीका अनुसार ज्यान जोगाउन घाइतेहरू नजिकैको झाडीतर्फ भागेका थिए। हालसम्म १६२ जनाको शव फेला परेको र थप खोजी कार्य जारी रहेको उनले बताए।
घटनाको विवरणमा भने केही भिन्नता देखिएका छन्। स्थानीय सांसद साईदु बाबा अहमदले ३५–४० जनाको मृत्यु भएको बताएका थिए भने गभर्नर अब्दुल रहमान अब्दुल रजाकले मृतकको सङ्ख्या ७५ पुगेको उल्लेख गरेका थिए। यद्यपि, उद्धारमा खटिएको रेडक्रसले मृतकको सङ्ख्या धेरै उच्च रहेको पुष्टि गरेको छ।
राष्ट्रपति टिनुबुले यस आक्रमणका लागि बोको हराम जिहादी समूहलाई जिम्मेवार ठहराएका छन्। उनले जिहादी विचारधारा अस्वीकार गर्ने गाउँलेहरूमाथि गरिएको यसलाई ‘जङ्गली आक्रमण’ को संज्ञा दिँदै कडा निन्दा गरेका छन्। नाइजेरियाको उत्तर क्षेत्र लामो समयदेखि जिहादी समूह, सशस्त्र डाकु र अन्तर–साम्प्रदायिक हिंसाबाट प्रभावित छ।
विज्ञहरूका अनुसार पछिल्लो समय अल–कायदा सम्बद्ध समूह जेएनआइएम र बोको हरामबीच सहकार्य सुरु भएको सङ्केत देखिएको छ। सेनाले जनवरी अन्तिमदेखि यस क्षेत्रमा आक्रामक अपरेसन चलाएर करिब १५० डाकुहरूलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इसाईहरूको ‘नरसंहार’ भइरहेको आरोप लगाएका छन्। तर, नाइजेरियाली सरकार र स्वतन्त्र विज्ञहरूले यो दाबीलाई अस्वीकार गर्दै हिंसामा कुनै धर्म विशेष नभई इसाई र मुस्लिम दुवै समुदाय मारिएको बताएका छन्। सुरक्षा स्थितिलाई ध्यानमा राख्दै क्वारा राज्यका केही क्षेत्रमा कर्फ्यू लगाइएको छ भने बन्द रहेका विद्यालयहरू सोमबारदेखि मात्र खोल्न आदेश दिइएको छ।



















