
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै आफ्नै दुई सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार आरोपपत्र दायर गरिएको हो।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ताका लागि २४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा उनीहरूलाई साक्षी बनाइएको थियो। अनुसन्धानका क्रममा घुस दिएको स्वीकार गरेपछि आयोगले उनीहरूलाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेस गरेको थियो।
तर, २०८२ भदौ २३ गते विशेष अदालतमा बयान दिने क्रममा उनीहरूले अनुसन्धानका बेला दिएको बयानको ठिक विपरीत बकपत्र गरेपछि आयोगले उनीहरूविरुद्ध नै कानुनी कारबाही अघि बढाएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अदालतमा बयान फेरेर भ्रष्टाचारजन्य कार्यमा सहयोग पुर्याएको भन्दै दुवै जनालाई प्रतिवादी कायम गरिएको छ। उनीहरूविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ।

























