शान्ति वार्तापछि रुस–युक्रेनबीच ३१४ युद्धबन्दी र नागरिक साटासाट

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार ११:२२

एजेन्सी । रुस र युक्रेनबीच ४ महिनापछि पहिलोपटक ठूलो संख्यामा युद्धबन्दी तथा नागरिकहरूको साटासाट भएको छ ।

संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा २ दिनसम्म चलेको शान्ति वार्तापछि दुवै देशले समान संख्यामा १५७–१५७ जनालाई स्वदेश फर्काएका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसको नियन्त्रणबाट मुक्त भएका १५७ युक्रेनीमध्ये सात जना सर्वसाधारण नागरिक छन् भने बाँकी युक्रेनी सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक हुन् ।

फर्किएका अधिकांश व्यक्ति सन् २०२२ देखि नै रुसी हिरासतमा थिए । राष्ट्रपति जेलेन्स्कीले रुसी जेल र बन्दीगृहमा रहेका १–१ जना युक्रेनीलाई पनि स्वदेश फर्काउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् ।

उता, रुसी रक्षा मन्त्रालयले पनि युक्रेनी नियन्त्रणमा रहेका आफ्ना १५७ सैनिक र ३ जना रुसी नागरिकलाई मुक्त गरिएको पुष्टि गरेको छ । युद्ध सुरु भएयता पटक–पटक सीमित साटासाट भए पनि यसपटकको प्रक्रिया पछिल्ला महिनाकै सबैभन्दा ठूलो मानिएको छ ।

यो साटासाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएको शान्ति वार्तापछि सम्भव भएको हो । वार्तामा ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उनका ज्वाइँ जारेड कुश्नरले अमेरिकी पक्षको नेतृत्व गरेका थिए ।

छलफलका क्रममा मुख्य रूपमा युक्रेनको क्षेत्रीय अखण्डता, भविष्यमा सम्भावित रुसी आक्रमण रोक्नका लागि आवश्यक सुरक्षा ग्यारेन्टी, र युद्ध अन्त्यका सम्भावित खाकाबारे संवाद भएको बताइएको छ । तर, वार्तामा गम्भीर मतभेद कायमै छन् ।

रुसले युक्रेनको पूर्वी औद्योगिक क्षेत्र डोनबासको बाँकी भूभाग आफ्नो नियन्त्रणमा दिनुपर्ने अडान राख्दै आएको छ । जुन युक्रेनी पक्षका लागि सबैभन्दा कठिन र अस्वीकार्य विषय बनेको छ । विशेष दूत विट्कोफले वार्तालाई ‘विस्तृत र केही हदसम्म फलदायी’ भने पनि अझै धेरै कठिन निर्णय र छलफल बाँकी रहेको संकेत गरेका छन्रा ।

रष्ट्रपति जेलेन्स्कीले पनि वार्ता सहज नभएको स्वीकार गर्दै आफूले छिटो र ठोस नतिजा चाहेको बताएका छन् । यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राख्दा लाखौँ युक्रेनी नागरिक चिसो मौसममा बिजुली, पानी र ताप प्रणालीविहीन अवस्थामा बस्न बाध्य छन् ।

यही पृष्ठभूमिमा भएको शान्ति वार्ता र युद्धबन्दी साटासाटलाई ४ वर्षदेखि जारी युद्ध अन्त्यतर्फको सानो तर सकारात्मक संकेतका रूपमा हेरिएको छ । युद्ध तत्काल अन्त्य हुने संकेत स्पष्ट नभए पनि दुवै पक्षबाट भएको यो कदमले कूटनीतिक संवादको ढोका अझै पूर्ण रूपमा बन्द नभएको सन्देश भने दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.