
काठमाडौँ । अध्यात्म र अपराधको सम्मिश्रण रहेको चलचित्र ‘शिवांश : च्याप्टर १’ शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। धर्मको आडमा हुने आपराधिक क्रियाकलापलाई पर्दामा उतारेको यो चलचित्रमा प्रवीण खतिवडा मुख्य अघोरी पात्रको भूमिकामा देखिएका छन्।
हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगलाई जोडेर बनाइएको यस चलचित्रको केन्द्रमा एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजी रहेको छ। आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले निम्त्याउने द्वन्द्व नै यस ‘स्पिरिचुअल एक्सन ड्रामा’ को मुख्य आकर्षण हो। सन्तोष कुमार आत्रेयले निर्देशन गरेको यस चलचित्रमा प्रवीण खतिवडाका साथै तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।
महाशिवरात्रिको अवसर पारेर प्रदर्शन हुन लागे पनि ‘शिवांश’ ले हल सञ्चालकहरूबाट भने खासै उत्साहजनक साथ पाएको देखिँदैन। देशभरका प्रमुख मल्टिप्लेक्सहरूले सार्वजनिक गरेको प्रारम्भिक सो तालिका अनुसार चलचित्रले देशभर कुल ९७ सो मात्र प्राप्त गरेको छ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई देशभर १३ सो उपलब्ध गराएको छ। जसमा काठमाडौँ उपत्यकाभित्र ५ र उपत्यका बाहिर ७ सो रहेका छन्। त्यस्तै, आईएनआईले ४ सो, वान सिनेमाजले २ सो, बिग मुभिजले २ सो र एफक्युब सिनेमाले मात्र १ सो दिएका छन्। क्यूएफएक्स, आईएनआई र वान सिनेमाज लगायतका हलहरूले अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन्।



















