
काठमाडौं । राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सामाजिक न्यायको सिद्धान्तका आधारमा सबै वर्ग र समुदायलाई राज्य संरचनामा सहभागी गराउन अझै धेरै मेहनत गर्नुपर्ने बताएका छन्। राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले सामाजिक न्याय र समावेशीतालाई अधिकार सुनिश्चितताको मुख्य आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। अध्यक्ष जोशीले सामाजिक न्यायका सवालमा समाजमा अझै पनि असमानता, विभेद र असमावेशीताका समस्याहरू कायमै रहेको उल्लेख गरे।
पछाडि परेका क्षेत्र, वर्ग र लिङ्गका व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गर्न विभिन्न संवैधानिक आयोगहरू गठन गरिए पनि ती आयोगहरूले सोचेजस्तो प्रभावकारी भूमिका खेल्न नसकेको उनले स्वीकार गरे। उनले भने, ‘समावेशी नभई अधिकार प्राप्ति हुँदैन भन्ने मान्यताका साथ सामाजिक न्यायको सिद्धान्तमा बनेका आयोगहरूले यो दिवस मनाउनु उपयुक्त हुन्छ। अहिले अन्तर्राष्ट्रिय स्तरमै समावेशी सशक्तीकरणका विषयहरू उठिरहेका छन्। सामाजिक न्यायमा सबै पक्षको पहुँच हुन आवश्यक छ। मुलुकलाई पूर्ण रूपमा समावेशी बनाउन अझै निकै कसरत गर्नुपर्ने अवस्था छ।’
उनले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका बहसहरूलाई आत्मसात् गर्दै सामाजिक न्यायमा सबै पक्षको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।

























