
काठमाडौं । पर्यटकीय सिजनको मुख्य महिना फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने भएपछि निर्वाचन आयोगले पर्यटकका लागि कडा नियम ल्याएको छ। आयोगले फागुन २१ गते निर्वाचनका दिन विदेशी पर्यटकलाई होटल बाहिर निस्कन र घुमफिर गर्न रोक लगाएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचनको दिन पर्यटकहरू होटलमै बस्नुपर्ने निर्णय गरिएको छ। उक्त दिन पर्यटकहरू केवल विमानस्थलबाट होटलसम्म जान वा होटलबाट विमानस्थलसम्म जान मात्र पाउनेछन्। यसका लागि आयोगले अनलाइन माध्यम वा जिल्ला प्रशासन कार्यालयमार्फत ‘विशेष पास’ उपलब्ध गराउने व्यवस्था गरेको छ।
अहिलेको ‘असामान्य परिस्थिति’ मा हुन लागेको निर्वाचन भएकाले पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कडाइ गरिएको आयोगको तर्क छ। तर, आयोगको यो निर्णयले पूर्वतयारी र तालिका सहित आएका पर्यटकहरू मारमा पर्ने भन्दै पर्यटन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
विशेष गरी पदयात्रामा गइसकेका पर्यटकहरूको हकमा के गर्ने भन्नेमा आयोगको नियम स्पष्ट नभएको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। ‘पर्यटन भनेको काठमाडौँ मात्र होइन, अहिले ट्रेकिङ सिजन भएकाले धेरै पर्यटक गन्तव्यमा छन्। उनीहरूलाई त्यहीँ रोक्ने कि काठमाडौँ ल्याउने भन्नेमा आयोग क्लियर भएन,’ अध्यक्ष शाहले भने।
फागुनको तेस्रो र चौथो साता मात्रै करिब ४५ हजार पर्यटक नेपाल आउने अनुमान गरिएको छ। विगतमा पर्यटन बोर्डसँगको समन्वयमा पास जारी गरेर पर्यटकलाई घुमफिरमा सहज बनाइने अभ्यास भए पनि यसपालि आयोगले सुरक्षा ‘रिस्क’ देखाउँदै त्यो अभ्यासलाई रोकेको छ। व्यवसायीहरूले यो प्रावधान ‘पर्यटनमैत्री’ नभएको गुनासो गरेका छन्।

























