
विराटनगर । वैदेशिक रोजगारीको २ बर्से यात्रा टुंग्याएर मलेसियाबाट फर्किएका पतिमाथि बाम्फोक (दाउ) प्रहार गर्ने महिलालाई प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलबाट पक्राउ गरेको छ ।
शनिबार राति ३६ वर्षीय राजनकुमार अधिकारीमाथि घरभित्रै धारिलो हतियार प्रहार गरिएको घटनामा उनकी पत्नी रन्जना कार्की (अधिकारी)लाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार राजन मलेसियाबाट फागुन ५ गते नेपाल फर्किएका थिए ।
त्यसअघि पनि मलेसिया आउजाउ गरिरहेका थिए । यसपटक भने मलेसिया बसाइ टुंग्याएर नजाने गरी फर्किएको पाइएको छ ।
उनीमाथि शनिबार राति करिब १०ः३० बजे घरभित्र सुतिरहेका बेला हतियार प्रहार भएको थियो । राजनको मुख, हात, टाउको र बायाँ कान लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । गम्भीर अवस्थाका उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएको ४ दिनमै यस्तो आक्रमण हुनु स्थानीयस्तरमा चासोको विषय बनेको डीएसपी चौधरी बताउँछन् । प्रहरीले घटनामा संलग्न उनकै पत्नी रन्जनालाई पक्राउ गरेको हो ।
उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रन्जनालाई अहिले इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा रन्जनाको संलग्नता देखिएको हो । तर, बाहिरी कोही व्यक्तिसँग मिलेर रन्जनाले घटना गराएको हुनसक्ने सम्भावना पनि जीवितै रहेको प्रहरीले उल्लेख गरेको छ ।
सोधपुछका क्रममा भने रन्जना आफू एक्लैले पतिलाई धारिलो हतियारले प्रहार गरेको बताएकी छन् । घटनामा प्रयोग गरिएको खुर्पा प्रहरीले बरामद गरेको छ । घटनास्थलबाट महिलाले लगाउने कपडासमेत रगत लतपतिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उक्त कपडा रन्जनाकै हो ।
तर, घटनास्थलको अवस्था हेर्दा उनी एक्लैले यस्तो क्रूरतापूर्ण घटना गर्न सक्ने अवस्था नदेखिएको डीएसपी चौधरीको भनाइ छ । उनले भने, ‘घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि हुन सक्ने आशंका छ । सबै कोणबाट अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ ।’
घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको पहिचानका लागि प्रहरी टोली खटाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनामा संलग्न सम्भावितको खोजी गर्दै घटनाको थप अनुसन्धान गरिरहेको हो ।
वैदेशिक रोजगारीबाट फर्किएको केही दिनमै अधिकारीमाथि आफ्नै घरमा आक्रमण हुनुले स्थानीयस्तरमा त्रासको वातावरण सिर्जना गरेको छ । प्रहरीले घटनाको थप प्रमाण संकलन भइरहेको र सम्भावित विषयलाई जोडेर सबै हिसाबले अनुसन्धान थालिएको जनाएको छ । अधिकारीमाथि आक्रमण हुनुमा पारिवारिक विवाद वा अन्य कुनै कारण छ भन्ने विषय पत्ता लगाउन प्रहरी सक्रिय रहेको डीएसपी चौधरीले बताए ।

























