
सोलुखुम्बु। विश्वप्रसिद्ध कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ को विज्ञापन छायाङ्कन सगरमाथा आधार शिविरमा सफलतापूर्वक सम्पन्न भएको छ। हिउँदको चुनौतीपूर्ण मौसममा पनि नेपाली टोलीको प्राविधिक सहयोगमा छायाङ्कन सफल भएपछि कोरियन टोलीले निकै खुसी व्यक्त गरेको छ।
विज्ञापनका छायाकार लियो हर्नले नेपालमा आफ्नो यो पाँचौँ पटकको भ्रमण भएको बताए। फेब्रुअरी महिना सुटिङका लागि कठिन मानिए पनि यसपटक मौसमले साथ दिएका कारण अविश्वसनीय दृश्यहरू कैद गर्न सकिएको उनले सुनाए। उनले नेपालमा सुटिङ गर्न आउन अरूलाई पनि सुझाव दिने बताए। त्यस्तै, २०० भन्दा बढी फिल्म निर्देशन गरिसकेका निर्देशक योङजिन युनले नेपालको हिमालय क्षेत्रको प्राकृतिक सौन्दर्यले आफूलाई मोहित बनाएको प्रतिक्रिया दिए। उनले यहाँको जस्तो अनुपम दृश्य संसारका अन्य देशमा नपाइने दाबी गरे।
सुटिङमा सहभागी कलाकारहरूले सगरमाथाको काखमा काम गर्न पाउँदाको अनुभव रमाइलो र अविस्मरणीय रहेको बताए। यद्यपि, सोरा एडभेन्चरका सञ्चालक तथा पर्यटन व्यवसायी निमा निरु शेर्पाले भने नेपालमा सुटिङको प्रशासनिक प्रक्रिया निकै झन्झटिलो रहेको गुनासो गरे। एउटा सुटिङ अनुमतिका लागि पाँच–सातवटा मन्त्रालय धाउनुपर्ने कानुनी जटिलताले व्यवसायीलाई समस्या पारेको उनले बताए। सरकारले प्रक्रिया सहज बनाइदिए धेरै अन्तर्राष्ट्रिय फिल्महरू नेपाल आउने उनको भनाइ छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाललाई अन्तर्राष्ट्रिय छायाङ्कन गन्तव्य बनाउन चलचित्र विकास बोर्ड र पर्यटन बोर्डबिच समझदारी भइसकेको बताएका छन्। सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने र पोखरामा फिल्म फेस्टिभल आयोजना गर्ने लगायतका योजनाहरू अघि सारिएको उनले जानकारी दिए।



















