
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचका क्रममा ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित एक जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीन जान लागेकी ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खाण्ड्रो बिहान पक्राउ परेकी हुन्। उनले आफ्नो झोलामा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न देशका मुद्राहरू फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा नियमित जाँचका क्रममा खाण्ड्रोको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गरेको थियो। उनको साथबाट १० हजार ५ सय अमेरिकी डलर, २६ हजार ७ सय युरो, ७ हजार ४ सय चिनियाँ युआन र ४३ हजार स्विडिस क्रोनर बरामद भएको छ। नेपालको कानुनअनुसार अनुमतिविना तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा लुकाइछिपाइ लैजानु गैरकानुनी मानिन्छ।
पक्राउ परेकी खाण्ड्रोलाई बरामद मुद्रासहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ। विमानस्थल प्रहरीले पछिल्लो समय अवैध मुद्रा र सुन तस्करी नियन्त्रणमा विशेष निगरानी बढाएको बताएको छ।

























