
धनुषा । धनुषाको औरही गाउँपालिका–६ मा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–९ का सुमित मण्डलको धारिलो हतियार प्रहारबाट ज्यान गएको हो ।
बिहीबार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगम कुँवरले जानकारी दिएका छन् । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक मण्डलको एक युवतीसँग प्रेम सम्बन्ध रहेको देखिएको छ । सोही सम्बन्धसँग जोडिएको विवादका कारण घटना भएको हुन सक्ने आशंका गरिएको भए पनि यथार्थ कारण अझै खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
अनुसन्धान निष्कर्षमा नपुगेसम्म आधिकारिक रूपमा घटनाका बारेमा भन्न नसकिने प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र पारिएको छ ।

























