फायल फोटो ।दमक । झापाको दमक नगरपालिका–६ थाना रोडनजिक खाली जग्गाको झाडीबाट जलेको अवस्थामा एउटा राइफल फेला परेको छ ।
प्रहरीका अनुसार उक्त राइफल जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको पुष्टि भएको छ । जलेको अवस्थामा राइफल भेटिएको स्थान दमकको प्रहरी कार्यालयबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ पर्छ ।
गस्तीका क्रममा प्रहरीले स्थानीय यामजी श्रेष्ठको खाली जग्गाको झाडीमा बिहीबार साँझ ७ः३० बजेतिर हतियार फेला पारेको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार वाई १३४८७ नम्बरको नम्बरको ‘मार्क–४’ राइफल बरामद भएको छ ।
राइफलको काठको भाग पूर्ण रूपमा जलेको अवस्थामा छ । हतियारको बाँकी सम्पूर्ण भागमा खिया लागेको देखिएको खड्काले बताए । राइफल इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
अनुसन्धानका क्रममा प्रहरी अभिलेख जाँच गर्दा उक्त राइफल भदौ २४ गते जेनजी आन्दोलनको आडमा अराजक समूहले इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको पत्ता लागेको छ । आन्दोलनका नाममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा आक्रमण गर्दै हतियार लुटपाट गरिएको थियो ।
प्रहरीबाट लुटिएको राइफल कसले झाडीमा लगेर फालेको हो भन्ने यकिन छैन । लुटपाटमा संलग्न गिरोहलाई इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले खोजिरहेको छ । आन्दोलनको समयका गतिविधि तथा शंकास्पद व्यक्तिहरूको विवरण अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

























