
विराटनगर । ओखलढुंगाको चिशंखुगढीमा वृद्ध दम्पतीको हत्या गरी लुटपाट गर्ने कार्यमा संलग्न अभियुक्तहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। चिशंखुगढी गाउँपालिका वडा नं। ६ बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्र माया राईको हत्यामा संलग्न ३४ वर्षीय धन बहादुर राना मगर र अर्का एक १७ वर्षीय नाबालकलाई पुर्पक्षका लागि चलान गरिएको हो।
गत माघ १२ गते राति करिब १० बजेको समयमा यी दम्पतीको विभत्स हत्या भएको थियो। हत्यापछि धनमाल लुटेर फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले माघ २३ गते काठमाडौँको डल्लुबाट पक्राउ गरेको थियो। अनुसन्धान प्रक्रिया पूरा भएपछि ओखलढुङ्गा जिल्ला अदालतले फागुन १४ गते उनीहरूलाई थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
अदालतको आदेशसँगै मुख्य अभियुक्त धनबहादुर राना मगरलाई कारागार कार्यालय ओखलढुङ्गा पठाइएको छ। यस्तै, घटनामा संलग्न नाबालकलाई भने सुधारका लागि बालसुधार गृह विराटनगर पठाइएको छ। उनीहरूमाथि लुटपाट र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको थियो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार गम्भीर प्रकृतिको यस घटनालाई प्रहरीले विशेष प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरेको थियो।

























