
सर्लाही । सरकारी जागिर पाउने लोभमा वैकल्पिक उम्मेदवारले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या गरेको पत्ता लागेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिएको हो ।
सर्लाही सदरमुकाम मलंगवा–१० स्थित भाडाको घरमा बस्दै आएका ३६ वर्षीय यादवको फागुन ३ गते साँझ ७ः५५ बजेतिर गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीका अनुसार हत्या गर्ने व्यक्ति महोत्तरीको रामगोपालपुर नगरपालिका–५ घर भई हाल सर्लाहीको बहरथवा नगरपालिका–९ शान्ति टोलमा भाडामा बस्दै आएका ३४ वर्षीय गणेशकुमार महतो हुन् । महतो हाल रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायक पदमा कार्यरत थिए ।
यादव प्रदेश लोकसेवा आयोग मधेश प्रदेश, जनकपुरधामबाट २०८१ साल फागुन ४ गते सहायक पाँचौ तहको सब–इन्जिनियर पदमा सिफारिस भएका थिए । महतो एक मात्र वैकल्पिक उम्मेदवार रहेको र परीक्षणकालको एक दिन बाँकी छँदै यादवको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार महतोले आफ्नो जागिर पाउने आशामा गोली हानेका हुन् ।
यस घटनामा महतोसहित अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उनकै सालो २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र २२ वर्षीय विजयकुमार महतो रहेका छन् । सिंह सर्लाही बसबरिया गाउँपालिका–२ र विजय महोत्तरी रामगोपालपुर नगरपालिका–५ का बासिन्दा हुन् । दुवै जनाले हत्यामा सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
यादव र महतो एउटै क्षेत्रका प्राविधिक थिए । समय–समयमा उनीहरुबीच कुराकानी हुन्थ्यो । तर, महतोले आफूलाई राकेश यादव भनेर चिनाउँथे । भारतीय मोटरसाइकलमा मलंगवा आएका महतो र सिंहले यादवको डेरा नजिक फोन गरेर बाहिर बोलाई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छातीको बाँया भागमा गोली लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको थियो । हतियार घटनास्थलबाट केही मिटर उत्तर स्थित निर्माणाधीन हनुमान मन्दिर छेउमा फालिएको थियो । खेलिरहेका बालकले ४ दिनपछि उक्त हतियार फेला पारेका थिए । खेल्ने क्रममा गोली बालकको हातमा लागेको थियो ।

























