
काठमाडौं। सर्वोच्च अदालतले फागुन २१ को चुनाव र होली लगायतका सार्वजनिक बिदाका दिनमा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ। अदालतको निर्णय अनुसार बिदाको समयमा पर्न सक्ने आकस्मिक कानुनी उपचारका लागि न्यायाधीशहरू समेत तोकिएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा पौडेल र फागुन २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज पोखरेललाई सुनुवाइका लागि तोकिएको छ। बिदाका दिनहरूमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइको काम हुनेछ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ को व्यवस्था अनुसार लगातार तीन दिनभन्दा बढी सार्वजनिक बिदा परेको अवस्थामा बन्दीप्रत्यक्षीकरणको रिट सुन्न अदालत खुला राख्नुपर्ने प्रावधान छ। निर्वाचनको समयमा हुन सक्ने सम्भावित गैरकानुनी पक्राउ वा थुनाविरुद्ध नागरिकले न्याय पाउन् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको हो।
यस्तो विशेष परिस्थितिमा तोकिएका न्यायाधीशहरूले थुनाको कारण जाँच गरी मुद्दाको किनारा लगाउनेछन्। कुनै पनि व्यक्तिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित रिहाइका लागि यस अवधिमा निवेदन दर्ता गर्न सकिनेछ।

























