
काठमाडौं । सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.५२ अंकले वृद्धि भई २ हजार ७१२.४९ बिन्दुमा पुगेको छ।
बजार १.४४ प्रतिशतले बढ्दा लगानीकर्तामा उत्साह देखिएको हो। मंगलबार ३२६ भन्दा बढी कम्पनीका १ करोड ५१ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। व्यापार (ट्रेडिङ) उपसूचकबाहेक अन्य सबै उपसूचकहरूमा हरियाली छाएको छ।
यस दिन विशेष गरी जीवन बीमा, उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटन क्षेत्रका उपसूचकहरूमा उच्च वृद्धि देखिएको छ। जीवन बीमा उपसूचक १३६.०४ अंकले र उत्पादन तथा प्रशोधन उपसूचक १३७.८१ अंकले बढेका छन्।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनी र एसवाई प्यानल नेपालको पनि उच्च कारोबार भएको नेप्सेले जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा देखिएको यो वृद्धिले लगानीकर्ताहरू आगामी राजनीतिक स्थायित्वप्रति सकारात्मक रहेको संकेत गरेको विश्लेषण गरिएको छ।

























