
विराटनगर । निर्वाचन विरोधी गतिविधि गर्दै हिँडेका दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल छन् । चम्लागाईं मोरङ जिल्ला इन्चार्ज र पौडेल जिल्ला सचिव हुन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकमा निर्वाचन गतिविधि गर्दै हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरू बुधबार सुन्दरहरैँचा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको होक्स बम (सर्वसाधारणलाई तर्साउन राखिएको नक्कली बम) घटनामा संलग्न भएको आरोपमा अनुसन्धान सुरु भएको छ ।
पक्राउ परेकाहरुको साथबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइल फोन ५ थान, पार्टीको झण्डा १ थान र निर्वाचन विरोधी १०७ थान पर्चा तथा पम्पलेट बरामद भएको प्रहरीले जनाएको छ ।

























