
विराटनगर । माेरङकाे सुनवर्षी नगरपालिकामा मतदान केन्द्रमा खटिएका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निर्वाचन प्रक्रियामा असहयोग गरेको र अन्य कर्मचारीसँग विवाद गरेको आरोपमा ३७ वर्षीय रन्जित सिवालाई नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा खटिएका ३७ वर्षीय सिवा नेपाल विद्युत प्राधिकरण, रंगेली वितरण केन्द्रमा सहायक पाँचौँ तहमा कार्यरत कर्मचारी हुन् । उनी रंगेली नगरपालिका–२ का स्थायी बासिन्दा हुन् ।
बुधबार साँझ सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीहरूसँग झै-झगडा र गालीगलौज गरेको प्रहरीको भनाइ छ । उनले निर्वाचन प्रक्रियामा समेत असहयोग गरेपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार, नियन्त्रणमा लिइएका सिवालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको छ ।

























