
सप्तरी । झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मौका छोपी कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी समिउल्लाह मिया पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले ४४ वर्षीय मियालाई सप्तरीको कञ्चनपुर नगरपालिका–७ बलुवा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
डोरला नामले समेत चिनिने कञ्चनपुर–६ घोघनपुरका स्थायी बासिन्दा मियालाई अदालतले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको सजाय सुनाएको थियो। कारागारबाट भागेदेखि नै प्रहरीको खोजी सूचीमा रहेका उनलाई आइतबार साँझ साढे ७ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मियालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पुनः झुम्का कारागार सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।

























